चाँगुलाई पर्यटकीय गन्तब्य बनाएर समृद्ध वडा निर्माणमा प्रतिबद्ध छु

242

तपाईं निर्वाचित भएको पनि तीन बर्ष पूरा भएको छ। यो कार्यकालमा वडा बासीले सुशासन महसुस गर्न पाएका छन् कि छैनन्?
मैले पद सम्हाले देखिनै जनताको सुशासन प्रत्याभुति दिन अहोरात्र खटिएको छु । लामो समय जनप्रतिनीधि बिहिन भएर समस्या भोगेका जनताले मेरो कार्यकालमा राहत महसुस गरेका छन् । वडा बासीको समस्याहरू धेरै छन् । ती समस्याहरू कसरी समाधान गर्न सकिन्छ भनेर विभिन्न दल र वडाबासीसँग छलफल गरिरहेको छु । दलगत ढंगले आफुखुसी कुनैपनि काम गरेको छैन । जन्म दर्ता, मृत्यु दर्ता, बसाइँसराई, नाता प्रमाणीत, नागरिकता, घरबाटो आदि दैनिक सहज ढंगबाट सिफारिस दिने गरेका छौं । जग्गा सम्बन्धी स–साना बिबाद वडामा नै मिलाईदिने गरेका छौं । हाम्रो कामदेखि वडाबासीहरू सन्तुष्ट नै देखिएको महसुस गरेका छौं । उनीहरूको माग सडक, खानेपानी, बत्तीलगायतको समस्या चाँडो समस्या समाधान होस् भन्ने छ, प्राथमीकताका आधारमा काम अघि बढाईरहेका छौं साथै पुरातात्वीक महत्वको चाँगुनारायण मन्दिरलाई संरक्षण र सम्बद्र्धनमा लागि परेका छौं ।
विश्व सम्पदा सुचिमा सुचिकृत चाँगुनारायण मन्दिर तथा, धार्मिक स्थलहरूको संरक्षण र धार्मिक पर्यटनको बिकासमा कसरी लागि पर्नु भएको छ ?
विश्व सम्पदा सुचिमा सुचिकृत चाँगुनारायण मन्दिर संरक्षणमा सधैं अग्रसर रहेको छु । लिच्छबिकालिन नेपालकै पुरानो मन्दिरको चाँगुनारायण मन्दिरलाई भुकम्पबाट क्षेति पु¥याएपछि अहिले जिर्णोद्वारको काम सम्पन्न भएको छ । वरिपरीको चौघेरा सत्तल निर्माण कार्यको सुरुवात भएको छ । वडामा नौ वटा दहहरु रहेका छन् । नाग दह, धन्चा दह, सिं दह, ग्वालदह, वालदह, साङदह, फा दह, सिंख्वा दहलगायत दहहरू रहेका छन् । यिनको आफ्नै महत्व रहेको छ । यी दहलाई संरक्षण गरी पर्यटकीय गन्तब्यका रुपमा बिकास गर्न लागि परेका छौं । सिं दहको पुनर्निर्माण यसै बर्ष सकिनेछ । नाग दहमा एक महिने स्वस्थानी व्रत अबधीमा एकादशीमा ब्रतालुहरू स्नान गर्न आउने र द्वादशीमा सत्यनारायणको पुजा गरी सालीनदी फर्केपछि पूर्णीमामा व्रत सम्पन्न हुने गर्छ । त्यसैले नाग दह पोखरीलाई छिटो जिर्णोद्वार गर्न लागि परेका छौं । सिंख्वा दह पनि धार्मिक महत्वको दह रहेको छ । यसलाई गोसाइँकुण्डको रुपमा लिने गरिन्छ । प्राचिनकालमा साउनमा एक महिना मेला लाग्ने गरेका बुढापाका बताउँछन् । दहमा सुँगुरहरू प्रबेश गरेर फोहोर गरेकाले यस दहबाट नागले गोसाइँ कुण्डमा बसाइँ सरेको बुढापाकाहरूले बताउने गरेका छन् । यस दहको संरक्षण गरी फेरि एक महिना मेला लगाउने गरी काम अघि बढाई रहेको छु । मन्दिरसम्म जान तीन सय बर्ष अघि हजार सिंढी रहेकोले अहिले हजार सिंढी बनाउने काम भईरहेको छ । यहाँ किलेश्वर महादेब , छिन्न मस्ता माता, पञ्चमुखे महादेब आदि रहेका छन् । कतिपय मूर्तीहरू हराएका छन् र भेटिएका मुर्ती फिर्ता ल्याउन पहल गरिरहेका छौं । यसै चाँगुनारायणको मन्दिरको नामले नै नगरपालिकाको नामाकरण भएको छ । यस मन्दिरको संरक्षण गरी धार्मिक पर्यटनको गन्तव्य बनाएर समृद्ध वडा बनाउन लागि परेको छु ।
तपाइँको वडामा सडकको अबस्था कस्तो छ ? यातायातको सुबिधा छ कि छैन ?
चाँगुनारायणमा मुख्य सडक तीनवटा रहेका छन् । सल्लाघारी दुवाकोट चाँगु सडक, देकोचा चाँगु सडक, र कालीघाट झौखेल चाँगु सडक । यस्तै शाखा सडकहरू पनि नौ वटा रहेका छन् । मुलपानी,चाँगु, नगरकोट सडक, निलो पुलदेखि वडा कार्यालय आउने सडक । निलबाराहि दुवाकोट चाँगु सडक, साँखु मंगलटार न्याचोपौवा सडक आदि । चाँगुनारायणमा भएका सडक चौध र दश मीटरका रहेका छन् । चलन चल्तिका साना बाटोहरूलाई समेत फराकिलो बनाएर दश मिटरको बनाउने कामको थालनी भएको छ । सबैले सडक फराकिलो पार्न साथ दिनु भएको छ । घर बनाउँदा सडकको मापदण्ड छोडेपछि मात्र सिफारिस दिने गरेकाछौं । सडक बिस्तारमा नगरपालिकाको बजेट, पूर्वाधार र सहरी बिकासको बजेटबाट कामहरू भई रहेका छन् । चाँगुनारायण भौगोलिक रुपमा भिरालो धरातल भएका कारण रिटेनिङ र ग्याभिङ वालहरूमा बढी खर्च गर्नु परेको छ । शाखा सडकहरू सबै कालोपत्रे र उकालोमा ढलान गर्नेकाम अघि बढाई रहेका छौं । जनतालाई भक्तपुर जान र काठमाडांै जान सहज छ । चाँगु डेकोचा हुँदै काठमाडौ सम्म यतायातको सुबिधा रहेको छ । त्यस्तै वडाकार्यालय देखि दुवाकोट, सल्लाघारी हुँदै काठमाडांै सम्म बसको ब्यबस्था छ । त्यस्तै नेपाल ईञ्जिनियरिङ कलेजदेखि मुलपानी हुँदै चाहबेल काठमाडौंसम्म माईक्रोबसले सेवा दिई रहेको छ । त्यस्तै नीजि सबारी साधनहरूपनि प्रसस्तै छन् । वडाबासीहरू यातायातको सुबिधाबाट बिमुख हुनु पर्ने अबस्था छैन ।
तपाइँको वडामा खानेपानीको समस्या छ कि छैन? समाधानकालागि कसरी काम गरिरहनु भएको छ ?
भौगोलिक धरातलले गर्दा पनि खानेपानिको समस्या त परिनै हाल्छ । तर पनि एक घर एक धारो अनिबार्य रुपमा पु¥याउन लागि परिरहेका छौं । म निर्वाचित भएर आएपछि दुईवटा खानेपानी आयोजना सम्पन्न हुँदैछन् । यसै बर्षदेखि पानी बितरण हुन्छ । यस बर्ष अर्को दुईवटा खानेपानी आयोजनाको लागि बजेट बिनियोजन भएको छ । यसले केही बर्ष भित्रै खानेपानीको समस्या समाधान हुन्छ ।
भौगोलिक धरातलले पनि बर्षामा पहिरो जाने समस्या रहेको छ। यसको समाधानको लागि के के गर्नु हुँदैछ?
यो समस्या हाम्रोमा मात्र हैन, भौगोलिक धरातल भिरालो भएको सबै ठाउँमा हुने गर्दछ । धनजनको क्षती नहोस् भनेर हामी लागि परेका छौं । यस बर्ष पनि खोरीया गाउँ, फुलबारीमा घर नजिकै पहिरो गएको छ । त्यस्तै दोलागिरी माबिको पर्खाल पहिरोले भत्काएको छ । यी प्राकृतिक प्रकोपलाई बर्षाको कारण अस्थायी रुपमा समाधान गर्न पाल र प्लास्टिक बितरण गरिएको छ । चाँगुको बन क्षेत्रमा सल्ला बढी भएको कारण पहिरो रोकथाममा सहयोग नपु¥याएकाले सल्ला घटाएर चिलाउने र पिपल जस्ता रुखहरू लगाउँदै आएका छौं । अझ मनोहरा खोलामा बाढी आएर बस्ती बर्सै पिच्छे जोखिममा पर्ने गरेकोमा प्रशासन र जिसस को सहयोगमा २१ सालको नापी अनुसार खोला फर्काईएकाले जोखिमको समस्या समाधान भएको छ ।
आधुनिक सहरीकरणकालागि कुनै काम गर्नु भएको छ कि?
चाँगुनारायण हाम्रो वडा पूरै स्मार्ट सिटी भित्र परेको छ । चाँगुनारायण नगरपालिकाले पनि नयाँ सहरको अबधारणा ल्याई रहेको छ । यस्तो अबस्थामा वडाले केही काम पनि अघि बढाएको छैन । प्लानिङको लागि पनि स्वीकृति दिएको छैन । एक रोपनिलाई दुई टुक्रा पार्न वडाले सिफारिस दिने गरेको र अंशबण्डाको सवालमा अदालत जानकोलागि सिफारिस सम्म दिने गरेको छ ।
आधुनिक कृषि प्रणालीको बिकासमा कसरी जोड दिनु भएको छ?
यहाँ अहिले पनि परम्परागत रुपमै कृषि प्रणाली चलेको छ । अहिले प्रत्यक वडामा कृषि केन्द्रहरू स्थापना भएका छन् । हाम्रो वडामा पनि छ । ब्याबसायिक रुपमा खेती गर्न प्रोहत्सान गर्ने गरेका छौं । वडाबाट बिउबिजन अनुदानमा उपलब्ध गराउँदै आएका छौं । टनेल खेतिको बिकासका लागि पचास प्रतिसत अनुदानमा कृषि औजार, प्लास्टिक, ट्याक्टर, पानी तान्ने पम्प आदी उपलब्ध गराएका छौं । कृषि चुनको प्रयोग, माटो परिक्षण प्राङ्गारीक मलको प्रयोगमा जोड दिँदै आएका छौं, गाई पालनलाई प्राथमिकतामा राखेका छौं । बाख्रा पालनलाई विशेष जोड दिएर बोयर जातको बोकाको ब्यबस्था गरेका छौं । कृषिसँगै जोडेर कृषि पर्यटनको बिकास गर्न खोरिया गाउँलाई होम स्टेका रुपमा बिकास गर्न अघि बढिरहेका छौं । चाँगुको सल्लाको बनलाई कटौति गरेर कटुस, आँप, हर्रो बर्रो आदि रुख लगायर आम्दानीको स्रोत बनाउन तिर लागि परेका छौं ।
… अन्तमा
कोरोना भाइरसको महामारीबाट बच्न स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गरौं । स्वस्थ रहौं । शिक्षा, स्वास्थ्य र खेलकुदको बिकासमा हामी अघि बढेका छौं । फ्रेण्ड्स क्लबसंग रंगशाला बनाउने सम्झौता भई सकेको छ । महादेब थान भन्दा माथी अन्तर्राष्ट्रिय रंगशाला बनाउन ९६ रोपनी जग्गा सम्याउने कामको ठेक्का भईसकेको छ । हामी सबै मिलेर चाँगुलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन लागि परौं । वडाको समृद्धिनै हाम्रो समृद्धि हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here