नगरपालिकाको बजेट सकाउने कामभन्दा अरु केही भएको छैन’ : छायाँ मेयर कार्की

413

नेपाली काँग्रेसबाट २०७४ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सूर्यविनायक गरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएका विष्णुराज कार्की, सो नगरपालिकाका छायाँ मेयर हुन्। नगरपालिकाको गतिविधिलाई नजिकबाट नियालीरहेका उनीसँग गरिएको कुराकानीको सार :

जनप्रतिनीधि आएको पनि १६ महिना बितिसकेको छ, तपाइँ यो क्षेत्रको छायाँ मेयर हुनुहुन्छ, यो हिसाबले विगत १६ महिनालाई कसरी मूल्यांकन गर्नुभएको छ ?

१६ महिनाको यो बीचमा हामीले १ वर्ष चाहिँ केही पनि बोलेनौं, मेयर, उपमेयर, वडाध्यक्षहरुले जुनसुकै तरिकाले चलाओस भनेर हामी चुप लागेका बसेका हौं । किनभने स्थानीय स्वायत्तताअन्तर्गत नगरपालिका पनि पहिलोपटक भएको थियो । कुन किसिमले जान्छ भन्ने विषयलाई हामीले हेरेका थियौं, निर्वाचितलाई बुझ्न पनि समय लाग्छ भनेर हामीले एक वर्षसम्म हेरेका थियौं । उनीहरुले जस्तोसुकै कार्ययोजना बनाए पनि हामी नबोली हिँडेका थियौं ।

एक वर्ष सकिएपछि, दोस्रो नगर सभा सकिएपछि हामीले पनि कर, सेवा शुल्कमा अत्यधिक बढेपछि हामीले ज्ञापन पत्र पनि बुझायौं र विस्तारै हामीले विरोध पनि गर्न थालका छौं । मनलाग्दी ढंगले, एकलौटी पाराले काम गर्न थालेपछि हामी तातेका छौं । नगरका योजनाबारेमा हामीसँग कुनै सरसल्लाह गरिएको छैन । म त मेयर बासुदेव थापाको निकटम प्रतिद्वन्द्वी पनि हुँ । तर मलाई उहाँहरुले नगरको कुनै कार्यजना बनाउन पनि, उपभोक्ता समिति बनाउने विषयमा पनि अहिलेसम्म रसल्लाह र सुझाव माग भएको छैन । पार्टीसँग पनि छैन ।

तपाइँ जनप्रतिनीधिहरुका कार्यशैली, काम कारबाहीबाट सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न ? तपाइँ त पार्टीगत रुपमा मात्र नभएर एक नगरवासी पनि हुनुहुन्छ ।
अहिले सन्तुष्ट हुने बाटै बनाएको छैन । जहाँ विकास गर्ने भने, उपभोक्ता समिति भने, आफ्ना मान्छे बसे, दुईजना बसे, ६ लाखको बजेट ३ लाखमा सिध्याए, खाए, त्यसरी विकास निर्माण गरिरहेका छन् । त्यो सँगसँगै हाम्रो जिल्लाकै नेताले ठूलो बजेट ल्याउनुभएको छ रे भन्ने सुनेको छु। नगर विकासको बजेट आउँछ, यही स्थानीय मान्छेसँग सरसल्लाह, समन्वय नगरीकन, आफ्नो पाराले काम भइरहेको छ । अहिले पनि बालकोटमा नगरविकासबाट १ करोड २० लाखको बजेट ल्याएको छ । बजेट ल्याएर जुन पर्खाल लगाएपछि अहिले हिँडिरहेको बाटो पनि हिँड्न नहुने गरी बिजोग भएको छ । यो विषयमा स्थानीय जनप्रतिनीधिसँग सोध्दा हामीसँग समन्वय गरेको छैन, कहाँबाट आएर बजेटले कुन काम गर्यो भन्ने हामीलाई जानकारी छैन भन्छन् ।, त्यसले गर्दा नगरपालिकाको मेयरले बजेट कसरी आयो र कहाँ लगाउनुपर्छ, आफ्नो नगरको कुरा त आफूलाई थाहा हुनुपर्ने ? त्यो पनि जानकारी नदिइकन काम गरिरहेका छन् । यसले गर्दा बजेट सकाउने काम भन्दा अरु केही पनि भएको छैन ।

बजेट सकाउने भन्दा पनि विकासको कुरा हैन र तपाइँले त सिधै विरोध गर्नुभयो ?
हैन, विकास निर्माण कसरी गर्ने भन्ने कुरामा निर्भर हुन्छ । त्यो विकास गर्दा, पर्खाल लगाउँदा, बाटो बनाउँदा नराम्रो भनेको हैन । पहिला पर्खाल लगाउने हो कि, बाटो बनाउने हो कि, ढल हाल्ने हो कि ? खानेपानी खुवाउने हो कि ? कार्ययोजना र कार्यदिशा बनाएर विकास गर्नुपर्यो । अहिले जताततै ढलान गरिरहेका छन् । सूर्यविनायक नगरपालिकाले ८ फिटे, १० फिटे बाटोमा ढलान गरिरहेका छन् । त्यो ढलान भनेको त भोलि ढल हाल्नुपर्छ, नगरपालिकाले ढलको व्यवस्था त गर्नुपर्यो । त्यो ढलान फेरि फोर्नुपर्यो कि परेन ? यसको अर्थ के हो ?

भनेपछि यो नपामा भइरहेका विकास निर्माणहरु दीर्घकालीन सोचले आएका हैनन् भन्न खोज्नुभएको हो ?
त्यो भन्दा पनि बजेट सकाउने कार्य मात्र भएको छ भन्ने कुरामा म शतप्रतिशत ढुक्क छु। यही नगरपालिकाको ५ नं. वडामा लगभग १ करोडको बजेटमा ८० लाख त ढलानलाई मात्र छुट्याएको छ । त्यसको अर्थ के हो ? ढलै नभएको बाटो ढलान गर्नुको अर्थ के ? भोलि त ढल हाल्नुपर्छ, खानेपानीको पाइप हाल्नुपर्छ ? त्यो बेला भत्काउने कि ? नभत्काउने ? यत्ति पनि सोच नराख्नुको मतलब के दीर्घकालीन छ ? दीर्घकालीन योजना नै छैन, कसरी हुन सकिन्छ सन्तुष्ट ? यतिमात्र हो र नगरपालिकाले सरोकारवालाहरुसँग कुनै सम्पर्क नै गरेका छैनन् । कुनै सुझाव नै लिएका छैनन् । अस्ति भर्खरै बालकोटमा मिडियामा हेर्नुभयो होला, हाम्रो उपमेयरजीका श्रीमान्ले नै फोटो खिचेर यो कसले खायो भनेर फोटो हाल्नुभएको थियो । त्यसरी खाइरहेको अवस्था छ । त्यो त उदाहरण मात्र हो ।

स्थानीय निकायले त्यो विषयमा जिम्मेवारी नै लिँदैन ? भनेपछि विकास निर्माणको नाममा चलखेल भइरहेको
छ भन्नुभएको हो ?
एकदमै हो, यहाँ विकास देखाउने अनि बजेट कुम्ल्याउने कुरा भइरहेको छ ।

जनतालाई सहुलियत दिने नाममा १३ वटा शीर्षकका कर त निःशुल्क गरेका छौं भनेर मेयर, वडाध्यक्षहरु भनिरहेका छन्, तपाइँहरु चाहिँ कर बढ्यो भनेर  भनिरहनुभएको छ, आन्दोलन पनि गरिरहुनुभएको छ, के यो कुरा विरोधाभाषपूर्ण भएन र ?
होइन, राज्यले निःशुल्क १३ वटा विषयमा त कर छुटै दिएको छ । नेपालको संविधानले दिएको ती विषयमा समेत पहिला कर लिएको प्रमाण हामीसँग छ । पहिला लिइसकेको र पछि पुरानो मिति राखेर सच्याएको प्रमाण हामीसँग अहिले पनि सुरक्षित छ । हामीले त्यो विषयलाई त उठाएकै छैनौं । विकासको लागि कलकारखाना चाहिन्छ, कलकारखाना
राखेपछि कमाएपछि कर तिर्ने हो, कर तिर्ने भनेको आम्दानी भएपछि हो, त्यो कलकारखाना स्थापना गर्न कति कर तिर्नुपर्छ ? कर त लिनुपर्छ नगरपालिकाले, कर लिनुपर्दैन र लिनु हुन्न भनेर हामी भन्दैनौं, सेवा शुल्क चाहिँ कम हुनुपर्यो भन्ने हो । कर त सुखले तिर्नुपर्ने हो तर यहाँ त बाध्यताले कर तिर्नुपर्छ भनेको छ । अब त जग्गै बेचेर कर तिर्नुपर्ने भयो । अझ, यिनीहरुले त एकीकृत सम्पत्ति कर लिएको छ । यो करलाई राज्यले नै निस्तेज गरेको छ । एकीकृत कर लिन पाइँदैन भनेको छ ।उनीहरुले चाहिँ एकीकृत कर भनेर लिइरहेको छ । आजको दिनसम्म पनि बिल प्रिन्ट गरेर, एकीकृत सम्पत्ती करलाई केरेर कर लिइरहेको छ । करको विषयमा त अझ हामीले बोलेकै छैनौं । कर बढ्यो भनेर हामीले भनेका छैनौं, सेवा शुल्क बढायो भनेर भनिरहेका छौं । कमाएपछि कर तिर्नु ठूलो कुरा हैन, पहिला कर तिर्ने वातावरण बनाउनुपर्यो ।

वडाध्यक्षदेखि मेयरसम्म त विरोधीहरुले स्याल हुइँया गर्यो भन्ने आरोप लगाइरहेका छन् नि ?
हामीले यो विषय यत्तिक्कै, हावाभरमा दिएका हैनौं, हामीले कुन कुन विषयमा कतिले कर बढ्यो ? भन्ने विषयमा हिजो र आजको तुलना गरी लिखित रुपमै पत्र दिएका छौं । नेपाल सरकारले कृषि क्षेत्रलाई सबै क्षेत्रमा अनुदान दिनुपर्छ भनेर भनेको छ तर नगरपालिकामा कृषि फर्म दर्ता गर्न पैसा तिर्नुपर्छ, कृषिजन्य उत्पादनको कर तिर्ने कि नतिर्ने ? कृषि फर्म
दर्ता गर्न कर लिन मिल्छ ? निःशुल्क गर्ने, अनुदान दिने भनेको ठाउँमा करै लगाएपछि के हुन्छ ?
यतिमात्र हैन, एउटा निजी स्कुलले १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्छ भनेको छ । त्यो हटाउने षड्यन्त्र भइरहेको छ । स्कुलबाट पैसा लिएका छन् । १० प्रतिशत विद्यार्थी बराबरको पैसा ले भनेर भनेको छ । क, ख, ग, घ भनेर स्कुलको वर्गीकरण गरेको छ । क ले एकलाख तिर्छ । अहिले हाम्रो क्षेत्रमा काठमाडौं वल्र्ड स्कुल छ, त्यो एकदमै महंगो स्कुल
हो । त्यहाँ एक जना विद्यार्थी पढ्न लगभग ४÷५ लाख चाहिन्छ वार्षिक । यसले पनि एकलाख कर तिर्ने अनि हाम्रो ५ सय रुपियाँ महिनामा तिर्ने स्कुलसँग ५० हजार तिराउन मिल्छ ? त्यो मैले त्यो स्कुलले केही एक डेढसय विद्यार्थिलाई निःशुल्क पढाइदिएको भए के राम्रो हुने थिएन । त्यसो नगरी कन नगरपालिकाले आफ्ना कार्यकर्ता पोस्न रकम लिएको छ ।

राम्रो कुरा र काम नगरपालिकाले नगरेकै हो त ?
राम्रो गरेको देखेकै छैन । वर्षा सकिएपछि देखिन्छ कि ? बर्षा सकेपछि हिँउद लाग्छ, हिउँद लागेपछि हिलो देखिँदैन, त्यो बेला देखिन्छ कि । नगरपालिकाले यो चाहिँ राम्रो काम गर्यो भन्न लायकको काम गरेको देखिँदैन । नगरपालिकामा फोहोर मैले व्यवस्थापन गर्न भनी दुईटा गाडी छ । त्यो गाडी मेरो घरतिर फोहोरमैला उठाउन आएको देखेको छैन ।
त्यो गाडीमा घाँस उम्रिसकेको नगरपालिकामा फोहोर मैले व्यवस्थापन गर्न भनी दुईटा गाडी छ । त्यो गाडी मेरो घरतिर फोहोरमैला उठाउन आएको देखेको छैन । त्यो गाडीमा घाँस उम्रिसकेको छ, त्यसरी गाडी ठन्क्याएर राखिएको छ ।
मेयर निर्वाचित भएको दुईचार महिना नबित्दै स्कोरपियो किनेका छन्, विकासकै पैसाले गाडी किनेका छन्, चढेका छन् प्रत्येकवडाध्यक्षहरुलाई मोटरसाइकल दिएका छन् , जबकि वडाध्यक्षहरुले मोटरसाइकल चलाउन जान्नु हुन्छ कि हुन्न, त्यो मोटरसाइकललाई अर्को ड्राइभर नियुक्ति गर्नुपर्ने होला ।

मैले राम्रो देखेको भनेको मात्र उद्घाटन, शिलान्यास देखेको छु। अर्को कुरा रंगशालाको कुरा पनि आएको छ, भएको त्रिपुरेश्वरको रंगशाला बनाउन सकेको छैन ।

अहिले भक्तपुरको पुर्वी क्षेत्रमा रंगशाला बनाउँछु भन्दै जग्गा अधिग्रहण गर्छु भनेर लागिरहेका छन् । यो हेर्दा, आरोपै त लगाइहालन भएन तर यो कुरामा भूमाफियाहरुको पो हात छ कि जस्तो पनि लाग्छ मलाई । हनुमन्ते करिडोरमा पनि नेकपाका ठूल्ठूला नेताका सेयर लगानी छ रे भन्ने सुन्नमा आएको छ । माननीयज्यूले हनुमन्ते फर्काउनुहुन्न भनेर भाषण गर्नुभएको थियो । अहिले त्यो भाषण कता हरायो ? यो सबै चलखेल बुझिनसक्नुको छ । हामी एक वर्ष त चुप लागेर बस्यौं, हामी विस्तारै खोतल्दै छौं, कहाँबाट के के निस्कने हो ? विस्तारै थाहा हुन्छ ।

 

एक वर्षसम्म तपाइँहरुले नियाल्नुभयो, पहिला र अहिलेमा चाहिँ के फरक पाउनुभएको छ ?
१६ महिनाको अवधिमा ज्ञापनपत्र बुझाएर दबाब दिएपछि बल्ल एक चरण बुधबार वार्ताका लागि बस्यौं । हामीले नगरको विकासका लागि समग्र र सहकार्य गरी अघि बढौं भन्ने किसिमबाट कुराकानी गरिरहेका छौं ।
बढेको कर नरगपालिकाको विशेष परिषदबाट घटाउँछु सम्म भन्नुभएको छ । वार्ता ठोस निष्र्कस बिना टुङ्गिएको छ । यस्तै भइरह्यो, जनताको इच्छाविपरीतको काम भइरह्यो भने नगरपालिकामा ताला लगाउनेबाहेक दोस्रो विकल्प नहुनु पनि सक्छ ?

त्यतिसारो गर्नुपर्ने अवस्था भयो र ?
किन नहुनु, ६ लाख बजेटको काममा ३ लाखको नि हुन्न, दुई जना विद्यार्थी पढ्छन्, चित्तपोलको एक स्कुलमा, चार जनाको दरबन्दी छ । त्यो के हो ? कार्यकर्ता भर्ती गर्नुभन्दा अरु देखेकै छैन । स्पष्ट रुपमा भन्नुपर्दा नगरपालिकामा कसरी कर्मचारी राखिएका छन् ? केही स्पष्ट छैन । मैले त सुनेको छु, आफ्नै परिवारभित्रका छोरीज्वाइँलाई नि नगरपालिकाले काम दिएको छ ।

त्यसलाई सुधार्नका लागि तपाइँहरुको पनि भूमिका रहन्छ नि हैन र ?
हो, हामीले एक वर्ष हेरेपछि सुधारको लागि सुरु गरेका छौं । जनप्रतिनीधिहरुको एक वर्ष बितेपछि हामीले ज्ञापन पत्र बुझायौं, बुझाएपछि मेयरले सार्वजनिक स्थलबाटै वार्ताका लागि आह्वान गर्नुभयो । हामी पनि आफ्नै तरिकाले लागिरहेका छौं । आफैंले प्राविधि खटाएर नगरपालिकाले गरेका कामहरुको निरीक्षण गरिरहेका छौं । हामी श्वेतपत्रको समेत तयारी गरिरहेका छौं ।

मेयर, उपमेयर, वडाध्यक्षहरुलाई बढी प्रचारमुखी भए पनि भनिन्छ, के यो कुरामा सहमत हुनुहुन्छ ?
मलाई पनि त्यस्तै लाग्छ । असार मसान्तभित्र ९५ प्रतिशत काम सकिसकेँ भनेर भन्नुभएको थियो । त्यो भनेपछि मैले धेरै ठाउँमा निरीक्षण गर्न गएँ । काम चाहिँ कागजी रुपमा भएको देखिन्छ । जहाँ गर्नुपर्ने हो, त्यहाँ चैं भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here