२० देखि ५० प्रतिशतसम्म छुट सहित भक्तपुरमा ब्यापार मेला सुरु

139

भक्तपुर । भक्तपुरमा ११ दिने मेला सुरु भएको छ । पर्यटन बर्ष २०२० लाई लक्षित गरी व्यापारिक साँस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला, भक्तपुर मेला महोत्सव–२०७६ शुक्रबारबाट सुरु भएको हो ।

भक्तपुर नगरपालिका वडा नम्वर ७ को महेश्वरी खेलमैदानमा आगामी २३ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटन भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले गरिन् ।

ममता केन्द्र नेपालको आयोजनामा सुरु सो मेलाको उद्घाटनको अवसरमा उपप्रमुख जोशीले मेला तथा महोत्सवले पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताउँदै विभिन्न जातजातिको संस्कृति आदानप्रदान गर्न सहज हुने बताइन् ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष उकेश कवांले महेश्वरी खेल मैदानमा भएको उक्त मेलाका कारण सो क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।

कार्यक्रममा भक्तपुर साँगीतिक समाजका अध्यक्ष प्रवीण शाही, सचिव अल्र्वट बज्राचार्य, कराते प्रशिक्षक एवं आर्दश डोजोका अध्यक्ष सूर्यबहादुर लामा, गैसस महासंघ भक्तपुर जिल्ला अध्यक्ष सोम शर्मा बजगाईलगायतले मेलाको सान्दर्भिकतबारे बोलेका थिए । कार्यक्रममा विभिन्न संस्कृतिका झाँकी एवं बोन्बो प्रस्तुती गरिएको थियो ।

 

कार्यक्रमको सभापतित्व ममता केन्द्र नेपालका अध्यक्ष संगम लामाले गरेका थिए । उनका अनुसार मेलाको पहिलो दिन नै हजारौं व्यक्तिको उपस्थिति रहेको थियो । मेलाका अवसरमा प्रत्येक दिन विभिन्न राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने अध्यक्ष लामाले बताए । महोत्सवमा १५० भन्दा बढि विभिन्न स्टलहरु रहने र ती स्टलहरुमा लताकपडा , खेलकुदाका सामग्री , दैनिक आवश्यकीय सामग्रीहरु विषेश छुटमा उपलब्ध हुने आयोजकको भनाइ छ ।

मेलामा २० प्रतिशत देखि ५० प्रतिशत सम्मको छुटको ब्यवस्था समेत रहने अध्यक्ष लामाले बताए । मेलामा मनोरञ्जनका खेलहरु पनि समाबेश छन् । खेलमा रोटेपिङ, नाउ , ब्रेक डान्स, ड्राइगन, मौतका कुवा, भुत बंगला, मिकी माउस, जम्पीङ, विभिन्न जादु, लगायतका विभिन्न बाल मनोरञ्जनका सामग्रीहरु समेत रहेको आयोजकको भनाइ छ ।

मेलामा भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक , दोलखा ,रामेछाप, ललितपुर, काठमाडौं लगायतका जिल्लाबाट अवलोकनकर्ताहरु आउने केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here