ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको वार्षिकोत्सव

26

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको १८ औं र ख्वप कलेज अफ इन्जिनियरिङको ११ औं वार्षिकोत्सव एवम् शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ । बार्षिकोत्सवको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले चुनावमा मतदातालाई झूटो आश्वासन बाड्नु र पैसाको लोभ देखाउनु गलत भएको बताउनु भएको छ । उहाँले राजनीतिमा गलत संस्कारको विकास हुदै गएको बताउनु भएको हो । “जनताको राजनीतिक चेतनास्तर खस्किँदै जानु चिन्ताको विषय हो, चुनावको समयमा राजनैतिक शिक्षा बाँड्नुको सट्टा झूटो आश्वासन र पैसाको लोभ देखाएर मतदाताहरूलाई झुक्याउने काम गलत हो ।”(बिजुक्छँेले भन्नुभयो । उहाँले शासक दलहरूबाटै भइरहेको आरोप उहाँले लगाउनुभयो । अर्थतन्त्रमा स्वतन्त्र नभएको देश राजनीतिक रुपमा पनि स्वतन्त्र नहुने विचार राख्दै उहाँले पैसा खर्च गरी चुनाव जित्नुको कुनै औचित्य नहुने भनाई राख्नुभयो । लिम्पियाधुरा, लिपुलेक र कालापानीको विवाद नेपाल र भारतबीचको कुटनीतिक संवादबाट मात्र समाधान हुन नसक्ने भन्दै अध्यक्ष बिजुक्छेँले नेपाली भूमि अतिक्रमणको मुद्दालाई अब नेपाल सरकारले अन्तर्राष्ट्रिय अदालतमा उठाउनुपर्नेमा जोड दिनुभयो । समाजवादी देश क्यूवाको शिक्षा र स्वास्थ्य क्षेत्रबाट नेपालले सिक्न सक्ने भन्दै उहाँले देशको हितविपरीतका ऐन(कानूनहरू नबद्लेसम्म देशको विकास सम्भव नभएको दाबी गर्नुभयो । इतिहास र भूगोल पढ्ने विद्यार्थीको अभावलाई पूर्ति गर्न सरकारले ती विषयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरी सहज अध्ययन गर्ने व्यवस्था गर्नुपर्ने उहाँले औल्यउनुभयो ।
कार्यक्रमका सभापति कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित कलेजहरू अनुसन्धानको केन्द्रको रुपमा विकास गरी कलेजहरूलाई् विश्वविद्यालयको रुपमा अगाडि बढाउन प्राध्यापकहरूलाई उत्साहित गर्दै आइरहेको बताउनुभयो । भक्तपुर नगरबासी जनताले तिरेको कर र आन्तरिक स्रोतबाट स्थापना भएको ख्वप इन्जिनियरिङ कलेजले देशभरका विद्यार्थीहरूलाई सस्तो र गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं. ३ प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले पक्षपात, भागबण्डा र स्वार्थ मनोवृत्तिका कारण समाज अगाडि बढ्न बाधा पुगेको चर्चा गर्दै य्ुवा पुस्तालाई देश र विश्वको मानचित्र बुझ्ने ढंगले शिक्षा प्रदान गर्नु आजको आवश्यकता भएको औंल्याउनुभयो ।
त्यसअवसरमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, नेपाल इन्जिनियरिङ परिषद्का उपाध्यक्ष अर्नराज सिलवाल, इन्जिनियरिङ अध्ययन संस्थान, परीक्षा सहायक डीन प्रा.डा. ज्ञानबहादुर थापा, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल लगायतले कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुदै स्थानीय तहबाट स्थापना भएको देशको पहिलो इन्जिनियरिङ कलेजले सस्तोमा उत्कृष्ट इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा बिजुक्छेँले कलेजको वार्षिकोत्सव समारोहमा आयोजित रोबोटिक, ओराटोरी र फुटबल प्रतियोगिताका विजयी खेलाडी विद्यार्थी तथा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङमा १० वर्ष अवधि पुरा गरेका शिक्षक तथा कर्मचारीलाई मेडल तथा सम्मान पत्र प्रदान गर्नुभयो । वार्षिकोत्सवकै अवसरमा कलेजले ‘नेशनल ग्राजुएट कन्फरेन्स अन आर्किटेक्चर’ विषयको सम्मेलन समेत गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here