भक्तपुर रेडक्रसले प्रत्येक दिन एउटा कार्यक्रम गर्ने

61

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुरले प्रत्येक दिन एउटा न एउटा कार्यक्रम गर्ने घोषणा गरेको छ ।
भक्तपुर रेडक्रसको स्वर्ण जयन्तीको अवसरमा सोमबार जिल्ला सभापति मनोजकुमार थापाले प्रत्येक दिन एउटा न एउटा कार्यक्रम गरी भक्तपुर रेडक्रसको स्वर्ण जयन्ती बनाइने घोषणा गरेका हुन् ।
एक वर्षमा तीनसय ६५ वटा कार्यक्रम सञ्चालन गर्न भक्तपुर रेडक्रसले दुई करोड ६५ लाख ९३ हजार पाँच सय रुपैयाँको बजेट, नीति तथा कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।
भक्तपुर दरबार क्षेत्रस्थित पद्म माध्यमिक विद्यालय प्रांगणमा भएको स्वर्ण जयन्ती समारोहमा भक्तपुर जिल्ला सभापति थापाले भक्तपुरमा रहेका २१ वटा उपशाखालाई समेत क्रियाशील बनाएर जिल्ला शाखाले तीनसय ६५ दिनमा तीनसय ६५ वटै गतिविधि गर्ने उद्घोष गरे ।
‘जिल्ला शाखाले २१ वटा उपशाखालाई स्थानीय महिला तथा आमा समूह, टीम क्लवसँगै सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी कम्तीमा दुईवटा कार्यक्रम सञ्चालन गराउनेछ’, उनले भने, ‘भूकम्पपछिको उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रमसमेत २१ वटै उपशाखामार्फत सञ्चालन गर्नेछौं ।’
उनले स्थानीय निकायसँग समन्वय गरी भूकम्प प्रतिकार्य कार्यक्रममार्फत २१ वटै उपशाखालाई विपद् जोखिम न्यूनीकरण, प्राथमिक उपचारसम्बन्धी अभिमुखीकरण तथा तालिम सञ्चालन गरिने योजना रहेको सुनाए ।
विद्यालय तहमा रहेको जुनियर रेडक्रस सर्कल र उपशाखा तहमा रहेको युवा रेडक्रस सर्कललाई समेत स्वर्ण जयन्तीको अवसरमा कम्तीमा एउटा कार्यक्रम गर्न दिने उनले घोषणा गरे ।
रेडक्रमा महिला सहभागिता बढाउन विशेष अभिमुखीकरण गर्दै महिलाहरुलाई सीपमूलक तथा आयआर्जनका तालिम दिइने उनको भनाइ थियो ।
उनले रक्तदानलाई व्यापक बनाएर रक्तदाता सम्मान गर्दै जिल्ला शाखाअन्तर्गत सञ्चालित रक्तसञ्चार सेवा केन्द्रलाई अझ प्रभावकारी र विश्वसनीय बनाइने सुनाए ।
स्वर्ण जयन्ती एवं जिल्ला शाखाको २३ औं जिल्लासभा उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुर रेडक्रस भक्तपुरको थप परिचय बनेर अगाडि आएको सुनाए ।
उनले भक्तपुर रेडक्रसले सञ्चालन गर्दै आएको रक्तसञ्चार सेवाले भक्तपुरले देशैभरि ख्याति कमाएको बताए ।
नेपाल रेडक्रस सोसाइटीका कार्यबाहक केन्द्रीय अध्यक्ष अजितकुमार शर्माले ७५ जिल्लाका शाखामध्ये भक्तपुर सदैव उत्कृष्ट रहँदै बताए ।
त्यस्तै रेडक्रसका महामन्त्री देवरत्न धाख्वाले भूकम्प पूर्वतयारीको कार्यक्रम भक्तपुर नमुनाको रुपमा रहँदै आएको जानकारी दिए ।
कार्यक्रमअघि भक्तपुर दरबार क्षेत्रबाट बाजागाजा र सांस्कृतिक झाँकीसहितको प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीले भक्तपुर नगर परिक्रमा गरेको थियो ।
कार्यक्रममा गएको वर्षभरि गतिविधि गरेको आधारमा दुवाकोट उपशाखालाई सर्वोत्कृष्ट उपशाखाले सम्मान गरिएको थियो । त्यस्तै बालकोट उपशाखा दोस्रो र झौखेल उपशाखा तेस्रो उत्कृष्ट शाखा बन्न सफल भएका थिए ।
त्यस्तै जुनियर रेडक्रस सर्कलतर्फ अरनिको मावि, युवा रेडक्रस सर्कलतर्फ बाराही र स्वयंसेवकतर्फ सिपाडोल उपशाखाका पूर्वसभापति राकेश थापा उत्कृष्ट घोषित भएका थिए । उनीहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here