भ्रष्टाचारी, अपराधीहरुलाई राजनीतिक संरक्षण दिने पार्टीले देशको हित नगर्ने

56

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सांसद प्रेम सुवालले भ्रष्टाचारी, अपराधीहरुलाई राजनीतिक संरक्षण दिने पार्टीहरुले देशको हित नगर्ने बताएका छन् ।
‘एमाले, माओवादी, काँग्रेस, मधेशवादी दलहरुले चुनावमा जित्नकै लागि नैतिक रुपले पतन भएका, समाजलाई बिगार्ने स्वभाव भएकाहरुलाई टिकट दिएर देशकै बद्नामी गर्ने काम गरेको छ, त्यस्तो स्वभाव र प्रवृत्तिबाट हुर्केको पार्टीले देश र जनताको पक्षमा काम नगर्ने निश्चित छ ।’ उनले भने ।
भक्तपुर नगरपालिकाको भार्वाचोस्थित गणेश माध्यमिक विद्यालयका संस्थापक एवं किसान आन्दोलनका अगुवा ज्ञानबहादुर न्याईच्याईको सम्झनामा आयोजना गरेको सातौं स्मृति सभामा सांसद सुवालले सरकारमा गएका दलहरु नै आपराधिक र भ्रष्टछििव भएका व्यक्तिहरुको संरक्षक भएको बताए । उनले निस्वार्थ रुपले देश र जनताको सेवाको लागि समर्पित व्यक्तिहरुर्लाई जनताले कहिल्यै नबिर्सने बताउँदै देश र जनताको अहितमा काम गर्नेहरु जनताको मनबाट धूमिल हुने चर्चा गरे ।
सोही अवसरमा उनले किसान अगुवा स्व. न्याइच्याईको व्यक्तित्व र पार्टी जीवन स्मरण गरेका थिए । विसं. २०३९ सालमा भक्तपुर अस्पतालमा स्वास्थ्य उपचार प्रभावकारी बनाउने मुख्य मागका साथ भएको आन्दोलनको समेत किसान अगुवा न्याइच्याईले अगुवाई गरेको सम्झँदै सांसद सुवालले उनको जीवनबाट नेताहरुले सिक्नुपर्नेमा जोड दिए ।
किसान परिवारमा हुर्केर पनि शिक्षाको विकासको लागि खेलेको भूमिकाको स्मरणमा आयोजित कार्यक्रममा सहभागी व्यक्तिहरुले स्व. न्याइच्याईले विभिन्न क्षेत्रमा दिएको योगदानबारेमा चर्चा गरेका थिए । सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य एवं नेपाल मजदुर किसान पार्टी भक्तपुर नगरका पूर्व अध्यक्ष रवीन्द्र खर्बुजाले किसान कार्यकर्ता न्याइच्याईले गरेका विभिन्न कामहरुको स्मरण गरेका थिए । उनले भक्तपुर नगरलाई सरसफाइको नमूना बनाउने अभियान, भक्तपुर नगर पञ्चायतभित्रै पसेर देशमै पहिलोपटक कक्षा ७ सम्म निःशुल्क शिक्षा दिने निर्णय गरेका व्यक्तित्वबाट नयाँ पुस्ताले सिक्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेमकिपा १ नं. वडा इन्चार्ज लक्ष्मीनारायण राजलवट, विव्यसका अध्यक्ष कृष्णबहादुर दुगुजु, भक्तपुर नपा वडा नंं १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, स्थानीयहरु रमेश न्याइच्याई, विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद याकामी र शिक्षिका सुशीला न्याइच्याईले पनि स्व. न्याइच्याईको योगदानबारेमा स्मरण गरेका थिए ।
भक्तपुर नगरका पूर्व मेयर मात्र नभएर नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता समेत रहेका स्व. ज्ञानबहादुर न्याइच्याईले आफू मेयर हुँदाताका कक्षा ७ सम्मको शिक्षालाई निःशुल्क गरेका थिए । उनी २०३९ सालमा प्रधानपञ्चमा निर्वाचित भएका थिए । सोही समयमा उनले भक्तपुर नगरमा साक्षरता कक्षा सञ्चालन गरेका थिए । उनले २०४१ सालमा सरकारले कक्षा ५ सम्म निः शुल्क भएको बेलामा भक्तपुरमा पहिलोपटक कक्षा ७ सम्म निःशुल्क शिक्षाको घोषणासमेत गरेका थिए । ‘जनताको विश्वविद्यालयमा अध्ययन गरेका प्रोफेसर’ को उपाधि पाएका स्व. न्याइच्याईले कक्षा २ सम्म औपचारिक शिक्षामात्र हासिल गरेका थिए । उनी वि.सं. २०४३ सालमा वडाध्यक्ष, २०४९ सालमा भक्तपुर नगरप्रमुख, २०५४ सालमा पुनः वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको २०६७ साल चैत १२ गते देहावसान भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here