मोरङको औद्योगिक भ्रमणमा भक्तपुरका साना उद्योगी व्यवसायी

76

भक्तपुर । भक्तपुरमा घरेलु तथा साना उद्योगी व्यवसायीहरु मोरङ जिल्लाको औद्योगिक नगरी विराटनगरको औद्योगिक भ्रमणमा गएका छन् ।
विराटनगरका घरेलुसँगै साना तथा ठूला उद्योगहरुले अपनाएका नयाँ प्रविधि, वायु तथा ध्वनि प्रदूषण न्यूनीकरणमा पाएको सफलतालगायतबारे जानकारी हासिल गर्न यहाँका घरेलु तथा साना उद्योगी व्यवसायीहरु औद्योगिक भ्रमणमा गएका हुन् ।
भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जतीको नेतृत्वमा १५ जना घरेलु तथा साना उद्योगी व्यवसायीहरु विराटनगर पुगेका छन् ।
मोरङ र भक्तपुर घरेलु तथा साना उद्योगी व्यवसायीहरुबीच सीप तथा प्रविधि आदानप्रदान गर्ने उद्देश्यले उक्त भ्रमण गरिएको संघका अध्यक्ष जती बताउँछन् । व्यवसायीहरुलाई यसरी भ्रमण गराउँदा उद्योगी व्यवसायीहरुले नयाँ नयाँ प्रविधिसँगै उद्योग व्यवसायमा सफलता पाउने उपायबारे जान्ने अवसर मिल्ने उनको भनाइ थियो ।
‘अघिल्लो वर्ष रुपन्देही जिल्लाका घरेलु तथा साना उद्योगको भ्रमण गराउँदा त्यहाँ प्रयोग भएको नयाँ प्रविधिलाई भक्तपुरका व्यवसायीहरुले प्रयोगमा ल्याएका थिए’, उनले भने, ‘उद्योगी व्यवसायीहरुकै मागअनुसार विराटनगरको औद्योगिक भ्रमण गराएका हौं ।’
नयाँ प्रविधि प्रयोगसँगै भक्तपुरका उद्योगी व्यवसायीहरुको क्षमता अभिवृद्धि हुँदै उत्पादकत्वमा समेत बढोत्तरी भएको पाइएको उनले सुनाए ।
भ्रमण टोलीमा सहभागी संघका कोषाध्यक्ष श्यामसुन्दर श्रेष्ठले विराटनगरका घरेलु तथा साना उद्योगी व्यवसायीहरुबाट भक्तपुरका व्यवसायीहरुले धेरै सिक्ने अवसर पाएको दावी गरे ।
‘विराटनगरका उद्योगी व्यवसायीहरुले धेरै विकास र प्रगति गरेको पाइयो’, उनले भने, ‘उक्त विकास र प्रगति देखेर भक्तपुरका उद्योगी व्यवसायीहरु प्रभावित र उत्साहित देखिएका छन् ।’
भक्तपुर पुगेको घरेलु तथा साना उद्योगी व्यवसायीहरुको प्रमण्डललाई उद्योग संगठन मोरङ र नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ शाखाले छुट्टाछुट्टै कार्यक्रम गरी स्वागत गरेको थियो ।
उद्योग संगठन मोरङले गरेको स्वागत कार्यक्रममा संगठनका अध्यक्ष मुकेश उपाध्यायले विराटनगरमा रहेका उद्योग व्यवसायको अवस्था र समस्या तथा त्यसको समाधानमा संगठनले पहल गर्दै आएको सुनाए ।
त्यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले गरेको अर्को स्वागत कार्यक्रममा शाखाका कार्यबाहक अध्यक्ष चेतन ले भक्तपुर र मोरङका घरेलु तथा साना उद्योग व्यवसायीहरुले एउटै समस्या भोगिरहेका सुनाए ।
उनले मोरङका उद्योग व्यवसाय मजदुर अभावले थलिँदै आएको बताए ।
भ्रमण दलका सदस्य एवं घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका सुब्बा कमल निरौलाले औद्योगिक भ्रमण प्रभावकारी हुँदै आएको बताए । औद्योगिक भ्रमणमा गएका उद्योगी व्यवसायीहरुले कार्यालयमा नयाँ नयाँ प्रविधि माग गरेबाटै यसको पुष्टि हुने उनको भनाइ थियो ।
‘औद्योगिक भ्रमणमा गएका उद्योगी व्यवसायीहरुबाट कार्यालयमा नयाँ नयाँ प्रविधिको माग आएका छन्’, उनले भने, ‘औद्योगिक भ्रमणको प्रभावकारिता देखेरै कार्यालय यसलाई प्रत्येक वर्ष निरन्तरता दिएको र व्यवसायीहरुलाई मागअनुसार प्रविधि हस्तान्तरण गर्दै आएका छौं ।’
भक्तपुरको प्रमण्डललाई विराटनगरस्थित दुई साना उद्योगहरु चन्द्रकला तयारी पोशाक उद्योग र कृति घरेलु चिउरा उद्योग तथा एक ठूलो अरिहन्ट मल्टिफाइबर जुट मिलको अध्ययन भ्रमण गराइएको थियो । औद्यागिक भ्रमणको लागि घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरले आर्थिक सहयोग गरेको संघका अध्यक्ष जतीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here