खानेपानीबाट वञ्चित विद्यालयलाई योजना

76

सल्यान, १३ चैत (रासस) ः जिल्लाका खानेपानी अभाव भएका छ विद्यालयमा खानेपानी योजनाको काम शुरु भएको छ ।

दुर्गम गाउँपालिकाका रुपमा चिनिने दार्मा गाउँपालिकाका चार र कुमाख गाउँपालिकाका दुईवटा विद्यालय गरी छवटा विद्यालयमा खानेपानी निर्माणको काम शुरु भएको हो ।

सेभ द चिल्ड्रेनले स्थानीय साझेदार संस्था दलित विकास समाज सल्यानमार्फत खानेपानी मर्मतको काम शुरु गरेको हो । खानेपानी योजनाअन्तर्गत दार्मा गाउँपालिका–६ को जनजागरण आधारभूत विद्यालयसँग रु एक लाख १२ हजार पाँच, विश्वेश्वर आधारभूत विद्यालय त्रिवेणीसँग रु ६६ हजार दुईको जनकल्याण आधारभूत विद्यालय झ्यारीवाङसँग रु एक लाख र नवसर्वसाधारण आधारभूत विद्यालय, भल्चौरसँग रु एक लाख २९ हजारको सम्झौता गरिएको दलित विकास समाज, सल्यानले जनाएको छ ।

यस्तै, कुमाख गाउँपालिका–७, जिमालीको महेन्द्र मावि जिमालीसँग रु एक लाख २४ हजार र शान्ति प्रावि, ठाराखोलासँग रु ९५ हजार सहयोग सम्झौता गरिएको छ ।

विद्यार्थी खानेपानीको सुविधाबाट वञ्चित भएका विद्यालयलाई वडा कार्यालय र गाउँ शिक्षा समितिको सिफारिसमार्फत सहयोग प्राप्त भएको दार्मा गाउँपालिकाका स्रोतव्यक्ति जंगबहादुर बुढामगरले बताउनुभयो । गाउँपालिकासँग पर्याप्त स्रोत नभएको र विद्यालयको टड्कारो आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयलाई सहयोगका लागि पहल गरिएको स्रोतव्यक्ति बुढामगरको भनाइ छ ।

“कतिपय विद्यालयमा विद्यार्थीले घरबाट बोतलमा बोकेर खानेपानी ल्याउनुपर्ने अवस्था छ” सेभ द चिल्ड्रेन सल्यानकी जिल्ला संयोजक विमला सुवेदीले भन्नुभयो– “विद्यालयमा खानेपानीको सहज पहुँच र विद्यालय सरसफाइमा सहयोग पुगोस् भनेर योजना माग भएका विद्यालयमा काम गरेका हौँ ।” विद्यालयमा पानीको अभाव हुँदा विद्यालयका शौचालयसमेत प्रयोगविहीन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here