हो म कुमारी आमा नै हुँ !

144

सुजाता पन्त

हरेक दिनजस्तै मिर्मिरे बिहानिमै टेबुलमा राखेको घडीले अलार्म बजाउँछ र आँखाले अँधेरीको साङ्लो चुडालिदिन्छन् । अनायासै मेरा हातहरु चार्जमा राखेको मोबाइलतिर लम्किन्छन् । स्विच अफ भएको मोबाइल अन गर्छु र अन गर्नेबित्तिकै छुटेका कलहरुको नोटिफिकेसन आउँछ ।

रिसितको १४ वटा कलहरु छुटेछन् अनि घरपरिवारका २, ४ वटा कलहरु । धन्य नेपाल टेलिकम छुटेका कलहरुको यसरी नोटिफिकेसन दिने सिस्टम बनाएर केही महत्वपूर्ण काम तथा व्यक्तिसग तुरुन्तै कल ब्याक गर्न सजिलो भयो । तर रिसितले त हस्पिटल या ड्युटीसँग सम्बन्धित केही काम भएर त्यति धेरै कल गरेको होला । त्यो त हिजो नै मिस गरिसके अब के गरुँ । कल ब्याक गरुँ कि नगरुँ म अल्मल्लमा परेँ । हिजो ड्युटीबाट अलिकति चाँडो निस्केको थिएँ । त्यसैले गाली खाइन्छ कि भन्ने डर पनि लाग्यो । जेसुकै होस् गाली नै भए नि सुन्नु पारिहाल्यो नि प्रोफेसनल जीवनमा भन्ने सोचेर नम्बर डायल गरेँ । हेल्लो डा रिसित गुडमर्निङ । हेर न हिजो तिम्रो धेरै कल आएछ, म अलि चाँडै निस्केथेँ । तिमीलाई भनेरै निस्केको थिएँ हैन र कुनै काम थियो र ?

ए गुड्मर्निङ भर्खर फुर्सद भयो तिमीलाई ? खासै काम त थिएन । केही कुरा गर्नु थियो एकदमै जरुरी । अलि छोटो छोटो सासमा उसले भन्यो ।
के हो त्यस्तो जरुरी काम, मिल्छ भने अहिले भन न ?
हैन म तिमीलाई भेटेरै भन्छु । बाहिर निस्क त चिया खान, हतारिँदै उसले भन्यो ।
अहिले नै किन ? भरे ड्युटी सकाएर भेटौँला नि त चिया पिउँला । अहिले ढिलो हुन्छ ।

मेरो कुरा सकिन नपाउँदै उस्ले थप्यो, हैन केही हुन्न मैले सिस्टरलाई भनेर आएको छु । तिमी र म दुवै केही मिनेट ढिलो भयो, वार्डका बिरामीलाई हाम्रो आवश्यकता भयो भने तुरुन्त कल गर्नु भएर आएको छु । त्यसैले तिमी अहिले नै निस्क ।
मैले मनमनै सोचेँ आखिर अहिले नै जरुरी त्यस्तो कुरा के होला आफ्नो काम र ड्युटीलाई सबैभन्दा धेरै माया गर्ने मान्छे हामी दुवै । जे होस् गएपछि थाहा होला भनेर म रेडी भएर निस्किएँ र चिया पिउन नजिकैको क्याफेमा पुगेँ ऊ पहिला नै आइपुगिसकेछ र टेबुलमा बसेँ ।
भन के भयो अहिले नै एमर्जेन्सी भेट्नुपर्ने ?

हिजो कहाँ थियौ मैले फोन गर्दा ? अलि खस्रो तरिकाले उसले प्रश्न गर्यो ।
हिजो मेरो छोरीको बर्थडे थियो । उसलाई नभेटेको पनि धेरै भएको थियो । धेरै न्यास्रिएकी थिई । त्यसैले त्यता गएको भनेको थिएँ त मैले जाने बेलामा । फेरि किन प्रश्न ? धेरैपछि भेटेको, त्यसैले मोबाइल साइलेन्ट थियो होला । कल आको नि थाहा भएन । पछि ब्याट्री सकिएर अफ भएछ । बेलुका कोठामा पुगेँ । अलि थाकेकोले मोबाइल जोडेर म सुतँे ।

हो म त्यही सुन्न चाहन्थँे र आज मलाई यो क्लियर बुझ्नु छ । त्यो नानी तिम्रो छोरी कसरी ? तिमी कसरी आमा ? उसको बाबा र तिम्रो सम्बन्ध के ? तिमी किन मलाई भन्दा धेरै समय उस्लाई दिन्छौ ?”
उसका प्रश्नले एकछिन् मस्तब्ध भएँ । छाँगाबाट खसे जस्तो भएँ । मेरो जीवनको प्रोफाइल केलाउन के जरुरी उसलाई ?
तिमी यो सब किन सोधिरहेका छौ रिसित केको लागि ?

पहिला मेरो जवाफ देऊ अनि भन्छु । उसले थप्यो ।
ल सुन तर आज क्लियर भनिसकेपछि अर्को चोटि सोध्ने कोसिस नगर्नू । उसले हस् भनेर मुन्टो हल्लायो र मैले सुरु गरँे ५ वर्षअघिको इतिहास ।
“त्यो नानी अर्थात खुशी उनीसँग मेरो रगतको नाता केही छैन न उसको परिवार र बाबासँग नै कुनै नाता छ मेरो । २ वर्षको कलिलो उमेरमा बाबा र आमा दुवै गुमाएकी एउटी अनाथ बालिकालाई मैले आमा नै बनेर सहारा दिएकी हुँ । किनभने त्यति बेलादेखि नै आमाको भूमिका मैले निभाए धेरै ठाउँमा र आजसम्म पनि उसलाई थाहा छैन । म उसको वास्तविक आमा होइन भनेर । किनकि एउटा आमाको अभावमा उनी सुस्त मनस्थिति बनिसकेकी थिइन् । उनलाई त्यस्तो स्थितिबाट माथि उठाउने कोसिस गरेँ, बस त्यति नै हो ।

अनि उसकी ममी बाबा ? तिमीले कसरी चिन्यौ ? फेरि अर्को प्रश्न तेर्सियो । उसको बाबा मेरो स्कुलको शिक्षक हुनुहुन्थ्यो । मेरो विद्यार्थी जीवनको एउटा आदर्श गुरु, शुभचिन्तक र एक अभिभावक पनि । मेरो पढाइ अनि अरु क्रियाकलापबाट धेरै प्रभावित हुनुहुन्थ्यो । त्यसैले यस्तो एक्स्ट्रा अर्डिनरी विद्यार्थीको घर परिवार र ब्याक्ग्राउन्ड कस्तो होला भनेर बुझ्न मेरो घरमा जानुभएको थियो । सबै अवलोकनपछि झनै धेरै गर्व गर्नुहुन्थ्यो मप्रति जब उहाँले बुझ्नुभयो । मेरो त्यो सफलताको पछाडि धेरै सङ्घ्रर्षका खुड्किलाहरु छन् । धेरै अप्ठ्यारो बाटो भएर अभावहरू झेल्दै त्यहाँ पुगेकी छु । त्यही कारण उहाँको १० वर्षको शिक्षण पेसामै भेटेको सबैभन्दा उत्कृष्ट विद्यार्थी भनेर सम्बोधन गर्नुहुन्थ्यो र हरेक ठाउँमा मेरो उदाहरण दिनुहुन्थ्यो । तर दुर्भाग्यबस सडक दुर्घटनामा परेर उहाँको मृत्यु भयो । मैले जीवनको एक सच्चा गुरु शुभचिन्तक र एक अभिभावक सधैंका लागि गुमाएँ, धेरै दुःख लाग्यो । जीवनमा सधैँ स्कुल कालेज बिदा हुँदा धेरै खुशी हुने मान्छे म त्यो दिन जुन दिन उहाँको नाममा बिदा भएको थियो त्यो दिनको २४ घण्टाको समयले मलाई कता कता पोलेजस्तो भयो । तैपनी अब दुःख मानेर बस्नुभन्दा उहाँले दिनुभएका हरेक हौसला र प्रेरणालाई आत्मसात गर्दै अघी बढ्ने प्रण गरेँ । उहाँले मबाट गर्नु भएका केही अपेक्षा पूरा गरी सुन्दर भविष्यका लागि पाइला चाहिरहने निर्णय गरेँ । उहाँको मिसेसलाई पनि उहाँले एउटा कार्यक्रममा चिनाउनुभएको थियो । त्यसैले त्यो दुःखद् घडीमा एकचोटी म उहाकँो घरमा पुगेँ र त्यहाँको माहोल देखेर आफूलाई सम्हाल्नै गाह्रो भयो । सरका बूढा बा आमा भर्खर २५ वर्षको उमेरमा सेतो पहिरहनमा म्याडम अनि काखमा १ वर्षकी कलिली छोरी । एउटै सन्तान पनि त्यसरी गुमाउनु पर्दाको बाआमाको पीडा अनि त्यो परिवार माथि परेको बज्रपात ।

१३ दिनको काम सकिएपछि म्याडम्ले फेरि घरमा बोलाउनुभयो र उहाँ विदेश जान लागेको कुरा बताउनुभयो । त्यो सुन्नेबित्तैकै मैले ठाडै अस्वीकर गरेँ । हजुर गएपछि नानीको हालत के हुन्छ ? सासूससुराको हालत के हुन्छ ? कसले सम्हाल्छ ? त्यसपछि उहाँको लामो कहानीपछि बुझेँ अभाव नै रहेछ सबकुराको पछाडि । अब मैले बोल्ने ठाउँ भएन उहाँहरुको विवशताको अगाडि र उहाँले जाँदाजाँदै उहाँ नआइपुगुन्जेल बुबाआमा र छोरीको कहिलेकाहीँ गएर हेर विचार गरिदिन आग्रह गर्नुभयो र त्यो अवस्थामा मैले नाइँ भन्न सक्ने स्थिति भएन ।

समय र परिस्थितिको अर्को विडम्बना भन्नुपर्छ विदेश जाने तयारी पूरा भएपछि मेडिकल चेक अपमा उहाको शरीरमा ब्लड क्यान्सर भेटियो र अब ३ महिना मात्र बाँच्ने कन्फर्म भयो त्यस्पछि झनै ठूलो ठेस लाग्यो त्यही परिवारमा जहाँ गहिरो त्यही पहिरो गयो छोरी र बुहारी दुवैको भूमिका निभाएकी नारी जवानीमै भगवानको प्रिय भन्नुभयो बूढा बाआमालाई बेसहार र डेढ वर्षकी छोरीलाई अनाथ बनाएर । त्यसपछि म त्यो परिवारमा अलि धेरै घुलमिल भएँ । कुन दिनदेखि नानीले मामु भन्न थाली थाहा नै भएन । मेरो उपस्थितिले उसलाई अभिभावकत्व दिलायो । बुबाआमालाई छोरीजस्तै झझल्को दियो । त्यसपछि मैले आफ्नो घरपरिवारमा पनि सबैलाई पारिचित गराएँ । समयले दिएको घाउ दुखेर पनि बाँच्न सहज बनाइदियो र आजसम्म पनि त्यो आत्मीयता कायम छ र सधैँ रहिरह्नेछ ।

यति भन्दैगर्दा कुन बेला मेरा आँखा रसाइसकेछन् । थाहा नै भएन र रिसितको अनुहार पनि मलिन देखेँ र उसलाई सोधेँ, “अब भन यो सब जस्टिफिकेसन चाहनुको कारण ?

उसले आँखा टिलपिल पार्दै भन्यो– “म २ वर्षदेखि तिमीलाई प्रेम गर्थें र अझै गर्छु तर तिमीलाई भन्न यसकारण मात्रै डराए कि तिमी कसैकी आमा हौ कुमारी आमा ! मैले तिमीलाई आफ्नो बनाउँदा मेरो परिवार र समाजले भोली कुमारी आमा भनेर नस्वीकार्न सक्छ । तिम्रो बारेमा यति भनिरहँदा मलाई धेरैले भनिसके ‘भाइ तँलाई त चाउचाउमा जस्तै बम्पर उपहार पर्नेभयो’ । त्यसैले आज म अन्तिम चोटि सुन्न चाहन्थेँ एकएक वास्तविकता । जे भए पनि जस्तो भए पनि तिमी कुमारी आमा हौ । मैले अब तिमी त्यो छोरीलाई त्याग्न सक्दैनौँ भने मैले तिमीप्रतिको प्रेम अब यही अन्त्य गर्नै पर्छ ।”

उसको कुराले म छाँगाबाट खसे र शिर ठाडो गरेर जवाफ दिएँ– “मलाई यो कुरा आजसम्म थाहा थिएन र मैले त्यस्तो सोचिन पनि । तिमीले मलाई त्यस्तै सोचेर माया गरेछौ, त्यो तिम्रो पनि गल्ती हैन । मैले पहिला पनि भनेथेँ– माया, प्रेम, विवाह मेरो जीवनका केन्द्रीय विषय हैनन् । अझै धेरै लामो छ मेरो यात्रा अनि मैले गर्नुपर्ने कामहरू । करिअर, परिवार, समाज र मानवता नै हुन् मेरो जीवनका अहिलेका प्राथमिकता । त्यसैले म खुशी छु, तिमी जान सक्छौ । कुनै अर्की युवतीलाई प्रेम गर्न सक्छौ । यु आर टोटल्ली फ्री । तर बिनकारण मेरा जीवनका प्रोफाइल केलाउनु र कुनै कुराको जस्टिफिकेसन मागिरहनु जरुरी छैन र थिएन पनि ।”

यति भनेर म टेबलबाट उठँे र सरासर ड्युटीतिर लागेँ । दिनभरि माइन्डमा एउटै शब्द ठोक्किइरह्यो ‘कुमारी आमा’ ।

आज अझ धेरै हिम्मत र साहस बढेजस्तो लाग्यो । ऐना हेरेर आफैसग भनेँ आफ्नै प्रतिविम्बलाई– “हो म कुमारी आमा नै हुँ । तर बिना कुनै सामाजिक बन्धन परिधि र बिना कसैको सिन्दूर पोते । तिमीलाई के थाहा एउटा पवित्र तरिकाले एउटा नारीले मातृत्व बहन गर्न पाउँदा कति खुशी मिल्छ भन्ने कुरा । त्यसैले उसलाई त्याग्नै सक्दिनँ । मेरो जीवनको अर्को लक्ष्य उसलाई राम्रो संस्कार दिएर यो देशको अमूल्य गहना बनाएर बाहिर ल्याउनेछु । त्यति बेला पनि म यही सुन्न चाहन्छु– कुमारी आमाको छोरी !

भरतपुर, चितवन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here