मरेका भारतीय माछा बजारमा: नेपाली किसानलाई प्रतिस्पर्धा गर्नै कठिन

132

झापाः खुला सीमानाको फाइदा उठाउँदै व्यापारीहरूले सहज रूपमा भारतबाट मरेका माछा भित्र्याएर बिक्री वितरण गर्दा माछापालक स्थानीय किसान समस्यामा परेका छन् ।

मरेका भारतीय माछा सस्तो हुने भएकाले उपभोक्ताले गुणस्तरभन्दा मूल्यमा बढी महत्व दिने गरेकाले प्रतिस्पर्धा गर्न कठिन भएको किसानको गुनासो छ ।

भारतबाट आयात गर्नेहरू पनि खुल्ला रूपमा मरेका माछा ल्याउने गरेको स्वीकार गर्छन् । दमकस्थित माछा बजारमा डब्लूबी  ७३ सी २८९८ नम्बरको पिकअप भ्यानमा माछा लिएर आएका ढुवानीकर्ता प्रदीप चौरासियाले कार्टुनमा प्याक गरेर ल्याइएका माछा कम्तीमा ५ दिनअघि नै मारिएको बताए ।

उनले मरेका माछा आइसमा राखेर ल्याउँदा केही फरक नपर्ने तर्क गर्दै नेपाली माछा व्यापारीले मरेकै माछाको माग गर्ने गरेको बताए । उनले आफूले मात्र दैनिक  २ हजार केजी माछा ल्याउने गरेको जानकारी दिए ।

काँकडभिट्टा र अन्य साना नाकाबाट समेत आईसमा राखेर भित्र्याइएका माछा कैयौं दिनसम्म झापादेखी संखुवासभासम्म पुग्ने गरेको व्यवसायीहरूले बताएका छन् ।

सरकारले माछापालनलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रमहरू ल्याए पनि व्यापारीहरूले बढी नाफा कमाउने उद्देश्यले भारतबाट आयात गर्ने गरिरहेका छन् ।

यसले माछापालनमा सरकारी अनुदान र त्यसलाई परिणाममुखी बनाउने लक्ष्यमा गम्भीर असर पारिरहेको व्यवसायीक किसानहरूको भनाई छ ।

मोरङको इटहरामा माछापालन व्यवसाय गर्दै आएका विराटनगर–४ का कृष्णप्रसाद भेटवालले भने, “सरकारले माछापालनमा प्रोत्साहन गर्न लागि अनुदान कार्यक्रम ल्याउनु सकारात्मक भए पनि भारतीय माछा आयातमा कडाइ गर्न नसक्नु दुखद हो ।”

नेपाली बजारमा माछाको माग बढेसँगै उपभोक्तामा स्वस्थ्य माछा पहिचान गरेर मात्रै खानुपर्छ भन्ने चेतनाको विकास गराउन जरुरी भएको उपभोक्ता सुष्मा अधिकारीको बुझाइ छ ।

दमकस्थित गोलाटार बहुउदेश्यीय कृषि फर्मका सञ्चालक नरेशचन्द्र भेटवालले सरकारले माछापालनमा गरेको प्रोत्साहनमा मात्रै ढुक्क हुने अवस्था नरहेको बताए ।

घरायसी रुपमा उपभोग गर्ने उपभोक्ताले जिउँदो तथा स्वस्थ माछा खोज्ने गरे पनि माछाको ठूलो हिस्सा होटलमा खपत हुने र त्यस्ता होटलले सस्तो र गुणस्तरहीन भारतीय माछा खरिद गर्ने गरेको उनले बताए ।

जिल्ला कृषि विकास कार्यालय झापाले नेपाली बजारमा माछाको मागको ६० प्रतिशत हिस्सा भारतीय माछाले ओगटेको जनाएको छ । झापामा माछाको उत्पादन वार्षिक सरदर १ हजार ५० टन छ ।

कार्यालयका मत्स्य शाखा प्रमुख प्रदीप श्रेष्ठले भने, “माछाको मागअनुसार स्थानीय उत्पादन बढाउन सरकारी तवरबाट निक्कै धेरै प्रयास भइरहेका छन् ।”

उनले हाल जिल्लामा करिब ३ सय हेक्टरमा माछापालन भइरहेको जानकारी दिए । जिल्ला कृषि विकास कार्यालय झापाले विभिन्न अनुदानका कार्यक्रम ल्याएर माछाको उत्पादन बढाउने प्रयास गरिरहेको छ । झापाको गौरादह, तोपगाछीलगायतका क्षेत्रलाई माछा पकेट क्षेत्रका रुपमा विकास गरिरहेको कार्यालयको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here