पानी बोक्दाबोक्दै छुट्छ स्कुल

135

सुर्खेत : झिसमिसे बिहानीमै ब्युँझिन्छन् उनी । रित्तो गाग्री र डोको बोकेर खोलातिर लाग्छन् । जाँदा एक घन्टा लाग्छ । तर फर्कंदा गाग्रीभरि पानी र उकालो बाटो भएकाले डेढ घन्टा लाग्छ । बिहानभरको समय पानी ओसार्दैमा बित्छ । उनी विद्यालय जान भ्याउँदैनन् ।

उनी अर्थात् पश्चिम सुर्खेतको छाप्रेका ११ वर्षीय नवीन देउवाको दैनिकी हो यो । घरनजिकै पानीको स्रोत नहुँदा देउवाले आफ्नो पढाइलाई राम्ररी अघि बढाउन पाएका छैनन् । घरमा पानीको जोहो गर्नुपर्ने बाध्यताका कारण उनी अधिकांश दिन विद्यालय जान पाउँदैनन् । पानी बोकेर घरमा पुग्दा विद्यालय जाने समय नै हुँदैन । देउवा कक्षा ६ मा अध्ययन गर्छन् । घरदेखि विद्यालय टाढा भएका कारण पनि उनलाई थप समस्या भएको हो ।

बिहानमा झोला बोकेर विद्यालय जाने बेलामा उनलाई खोलाबाट डोकोमा पानी बोकेर घर पुग्नुपर्ने बाध्यता छ । यही कारणले उनले नियमित पढ्नसमेत पाउँदैनन् । ‘बिहान जुरुक्कै उठेर पानीको जोहो गर्न जानुपर्छ, बिहानभरमा तीन खेप पानी ओसार्छु । कहिलेकाहीं ढिलो भएर स्कुल जानै छुट्छ’, उनले भने । विद्यालय जान पनि एक घन्टा लाग्ने भएकाले पानी ओसार्दैमा समय बित्ने गरेको उनको भनाइ छ । देउवा मात्र होइन छाप्रेस्थित सान्ने गाउँका अधिकांश बालबालिका बिहानको समयमा डोकोमा गाग्री राखेर खोलामा पानी लिन झर्छन्, जसले गर्दा उनीहरू समयमै विद्यालय पुग्न सक्दैनन् ।

नौ वर्षीया लक्ष्मी देउवाको पीडा पनि उस्तै छ । किताबसहितको झोला बोकेर पढ्न जाने समयमा उनी पनि गाग्रीमा पानी बोक्न बाध्य छन् । चार कक्षामा अध्यनरत लक्ष्मीलाई घरबाट विद्यालय पुग्न डेढ घन्टा लाग्छ । घरमा अरू कोही नभएका कारण लक्ष्मी सधैंजसो पानी ओसारेर मात्रै विद्यालय जाने गर्छिन् । घरदेखि निकै टाढा रहेको विद्यालयमा पानी ओसार्दाको थकानका कारण अधिकांश दिन उनी पनि विद्यालय जाँदिनन् ।

अभिभावक बिहानैदेखि मेलापातमा व्यस्त हुने भएकाले पनि पानी बोक्न बालबालिकालाई लगाउने गरिएको हो ।

‘मान्छेलाई खाने पानी मात्र भए त थोरै पानी लिए पनि पुग्थ्यो, तर गाईभैंसीलाई समेत पानी बोकेर खुवाउनुपर्छ । पानी नभए कसरी खाना खानु ? कहिलेकाहीं स्कुल जानै ढिलो हुन्छ’, उनले भनिन् । यहाँका अधिकांश बालबालिकाको समस्या एउटै छ । दिउँसोको समय स्कुलमा भए पनि बिहान र साँझ भने उनीहरू सधैं पानीको जोहो गर्न खोलामा पुग्नैपर्छ ।

‘खोलाबाट पानी लिएर घर आउँदा साथीहरू स्कुल गइसकेका हुन्छन्’, स्थानीय जानुले भनिन्, ‘अनि एक्लै स्कुल जान डर लाग्छ, जंगलको बाटो छ । कहिले त पहिलो कक्षा नै छुटिसकेको हुन्छ ।’ अँध्यारोमै पानी लिन गए पनि टाढा भएका कारण ढिला हुने गरेको उनको भनाइ छ । बिहानकै समयमा तीन÷चार खेप पानी ओसार्नुपर्ने भएका कारण सधैंजसो आधा पढाइ छुट्ने गरेको उनले बताइन् । अभिभावकहरू बिहानैदेखि मेलापातमा व्यस्त हुने भएकाले पनि पानी बोक्न बालबालिकालाई लगाउने गरेका छन् । नजिकै मुहान नहुँदा सान्ने मात्र होइन, आसपासका गाउँमा समेत खानेपानीको समस्या छ । घरायसी प्रयोजनका लागि मात्र नभई, गाई वस्तुलाई खुवाउने पानीसमेत घन्टौं समय लगाएर खोलाबाट बोक्न बालबालिका बाध्य छन् ।

गाउँमा सडक पुगेको छैन, खानेपानीको चरम अभाव छ, बिजुली पनि छैन । तर पनि छाप्रेलाई पञ्चपुरी नगरपालिकामा गाभिएको छ । भौगोलिक विकटताका कारण छाप्रेका बासिन्दालाई नगरपालिकाको केन्द्रमा पुग्न एक दिन लाग्छ । ‘बाटो, बिजुली खानेपानी, स्वास्थ्य, विद्यालय लगायत भौतिक पूर्वाधारको विकास नै छैन, हचुवामा नगरपालिकामा गाभियो । सेवा र सुविधा केहीछैन, हामीले कर मात्र तिर्नुपर्ने बाध्यता छ’, स्थानीय चन्द्रा बीसीले भनिन् ।

गाउँमा खानेपानी नहुँदा बालबालिका स्कुल जान नपाएको उनको भनाइ छ । नगरपालिकाभित्र परे पनि विद्यालय नजिक नभएको र पानीको संकट हुँदा बालबालिकाको पढाइ प्रभावित भएको उनको गुनासो छ । अब निर्वाचित हुने जनप्रतिनिधिले आफ्नो गाउँमा सडक, बिजुली, स्वास्थ्य, खानेपानी, विद्यालयलगायत भौतिक विकासका लागि पहल गर्नुपर्ने स्थानीयको भनाइ छ ।अन्नपूर्ण पोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here