बदर नहुने गरी भोट कसरी दिने ?

180
स्थानीय तहको पहिलो चरणको चुनावमा धेरै मत बदर भएपछि निर्वाचन आयोगले दोस्रो चरणको चुनावका लागि मतदाता शिक्षा प्रभावकारी बनाउने दाबी गरेको थियो । तर मतदानको अन्तिम समयमा पनि मतदाता भने कसरी भोट हाल्ने भन्ने कुरा अझै अन्यौलमा रहेकाछन् । स्थानीय तहको दोस्रो चरणको चुनाव अन्तर्गत अबको केहीबेरमा मतदान सुरु हुँदैछ । निर्वाचन आयोग र दलहरुले मतदातालाई कसरी भोट हाल्ने भनेर मतदाता शिक्षा त दिएका छन्, तर यसपटकको चुनावमा मतपत्र ठूलो भएको र दलहरु पनि धेरै रहेकोले अझै पनि केही मतदाता भोट हाल्ने तरिकाबारे अलमलमै छन् ।  मददातामा कसरी भोट हाल्ने भन्ने अन्यौल रहनुमा प्रभावकारी मतदाता शिक्षा नहुनु र भोट माग्दै हिँडेका दलका नेता तथा कार्यकर्तालाई समेत मतदान गर्ने तरिका बारे नसिकाउनुले मतदातमा अन्यौल बढेको हो । बदर नहुने गरी कसरी भोट हाल्ने त ?  बुधबार बिहान ७ बजेदेखि १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लामा मतदान सुरु हुँदैछ । ती ठाउँका ६४ लाख ३२ हजार भन्दा धेरै मतदातालाई मतदान गर्न ८ हजार ३ सय ६४ मतदान केन्द्र तोकिएको छ । यी मतदाता मध्ये कतीमा अझै पनि कसरी मतदान गर्ने भन्ने बारेमा अलम भई रहेको हुनसक्छ । पहिलो चरणको चुनावमा भन्दा दोस्रो चरणको चुनावमा मतपत्र ठूलो भएकोले र दलहरु पनि धेरै भएकोले मतदातामा अलमलमा परेका हुन् । मतपत्रमा सात ठाडो लहरमा बेग्लाबेग्लै चुनाव चिन्ह राखिएका छन् । आफूले रोजेका सात उम्मेदवारलाई सातै ठाउँमा स्वस्तिक छाप लगाउनुपर्छ । गाउँपालिका वा नगरपालिकाका अध्यक्ष वा प्रमुखको लागि एक ठाउँमा, उपप्रमुखका लागि १ ठाउँमा, वडाध्यक्षको लागि एकठाउँमा, महिला वडासदस्यको लागि एक ठाउँमा, दलित महिला सदस्यको लागि एक ठाउँमा र २ जना खुला वडा सदस्यका लागि २ ठाउँमा छाप लगाउनुपर्छ ।  दायाँ लहरबाट क्रमश प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र २ वटा खुला सदस्यको लागि चिन्ह दिइएको छ । छैठौं र सातौं लहरको कोठामा खुला वडा सदस्यका लागि चुनाव चिन्ह छुट्याइएकाले त्यहाँ भने ठाडो या तेर्सो लहरमा लगातार दुई वटा चिन्हमा छाप लगाएपनि हुन्छ । सातौं लहरको कोठामा एकै प्रकारका २ वटा चिन्ह हुने भएकाले नझुक्किन निर्वाचन अयोगको मतदाता शिक्षा कार्यक्रमका प्रमुख नवराज ढकाल बताउनु हुन्छ । कतिपय ठाउँमा दलहरुले तालमेल गरेकाले सबै दलका सबै उम्मेदवार छैनन्, त्यसैले उम्मेद्वार नभएको चुनाव चिन्हमा छाप लगाएमा भोट खेर जान्छ । मतपत्रमा ल्याप्चे वा अरु कुनै मसीको प्रयोग गर्नुहुँदैन । मतदान केन्द्रमै रहेकोे स्वस्तिक चिन्ह त्यहि हुने छापदानीमा चोपेर चुनाव चिन्ह रहेको कोठाबाहिर नपर्ने गरी लगाउनुपर्छ । दुइवटा चुनाव चिन्हकोबिचमा छाप लगाएपनि बदर हुन्छ ।  चिसो हातले मतपत्र समात्न हुँदैन्, भोट हाल्नेबित्तिकै मतपत्र पट्याएमा मसी लतपतिने भएकाले छापको मसी सुक्न दिनुपर्छ । त्यस्तै मतपत्र कच्याककुचुक नपारी चारपाटे ढाँचामा पट्याउनुपर्छ । छाप लगाएको मतपत्र मतपेटिका भित्र मतदाताले नै सुरक्षित तरिकाले खसाउनुपर्छ, बाहिर छाडेका मतपत्र मतदानका खटिएका कर्मचारीले मतपेटिकाभित्र राख्न नपाउने निर्वाचन अयोगको मतदाता शिक्षा कार्यक्रमका प्रमुख ढकालले जानकारी दिनुभयो । मतदाता परिचय पत्र नलिएका वा लिएर पनि हराएको छ भने निर्वाचन आयोगले फोटो सहितको कुनै पनि सरकारी कागजातका आधारमा मतदान गर्न सकिने जनाएको छ । स्थानीय चुनावबाट स्थानीय तहमा स्थानीय सरकार चुनिने भएकाले मतदाता नामावलीमा नाम भएका सबैजनाले मतदान गर्न अल्छि मान्नु हुँदैन । नभुल्नु होला है, असल प्रतिनिधि चुन्न सकेमात्र आफ्नो गाउँठाउँको विकास हुने भएकाले पनि यो अवसरलाई खेर फाल्नु भनेको आफ्नै भविष्यलाई वेवास्ता गर्नु जस्तै हो नि ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here