नक्सामा नभएको भन्दै बाटोमै तेर्साए बाँस

1656

ताथली : भक्तपुरको चाँगुनारायण नपा ९ ताथलीको विन्ध्यवासिनी मार्ग जाने बाटोमा एक व्यक्तिले अवरोध गरेका छन् ।

विगत एक दशकदेखि चालू अवस्थामा रहेको सो बाटो नक्सामा उल्लेख नभएको भन्दै स्थानीय राम खड्काले सो बाटोमा बाँस तेर्साएर बाटो बन्द गरेका हुन् ।

बर्खायाममा आवतजावत गर्न तथा सवारी आवागमनमा सहयोग पुर्याउन भन्दै स्थानीय उपभोक्ताहरुले गत बुधबार ग्राभेलिङ गरेपछि खड्काले बाटो बन्द गरेका हुन् । बाटो बन्द भएपछि सो मार्गबाट आवतजावत गरिरहेका ताथलीको खड्का डिल, दलित टोल, बाला टोल, राउत टोल हुँदै सुडाल पुग्ने बाटो बन्द भएको छ । यतिमात्र नभएर सोही बाटो भएर जाने अमरावटी मोर्डन एकेडेमीको बाटो पनि बन्द भएको छ । सो मार्ग च्याम्हासिँह–नाला सडकमा जोडिएको सहायक सडक पनि हो ।

विवादित मार्गको रुपमा रहेको सो बाटोमा ग्राभेलिङ गरिएपछि आक्रोसित भएर खड्काले बाटोमा बाँसको खुड्किला ठोकेर बन्द गरिएको स्थानीयले बताए ।
फास्टट्रयाकको एक खण्डको रुपमा चिनिएको सो सडड खण्डको मुखैमा बन्द गरिएपछि दैनिक आवागमनमा समस्या भएको सेवाग्राहीहरु बताउँछन् ।

सो सडक खोलिएकै समयदेखि विवाद भएको थियो । बाटो बन्द गरेका खड्काले भने उक्त बाटोको विषयमा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सो बाटोमा केही नगर्न भनेकोले आफूले बाटोमा बाँस तेर्साएर बाटो बन्द गरेको बताएका छन् ।
खड्काले उक्त काम गरेपछि स्थानीय उपभोक्ता र सरोकारवालाहरु चाँगुनारायण नपा वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातकोमा पुगेर समस्या बताएका थिए ।

वडाध्यक्ष त्यातले प्रहरीको रोहबर तथा स्थानीय उपभोक्ता र सरोकारवालाको सहभागितामा अवरुद्ध बाटो खुलाएका थिए ।

अबरुद्ध बाटो खुलाउने क्रममा केही बादविवाद भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग जगातीका प्रहरी जवान् बीबी तामाङले नक्सामा कायम भए पनि नभए पनि कुनै पनि व्यक्तिले बाटो अवरुद्ध गर्न नपाइने बताउँदै आगामी दिनमा बन्द नगर्न समेत अनुरोध गर्दै बन्द बाटो खुलाएका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here