निशान हत्या प्रकरण : निको नहुने चोटले विक्षिप्त बाबुआमा

40

रमेश गिरी

भक्तपुर : कागेश्वरी मनोहरा नगरपालिका वीरेन्द्र चोकस्थित किरियापुत्री बस्ने घर । अपहरणपछि हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको बाबु गणेश र आमा चमेलीलगायतका आफन्त शोक मनाउँदै पीडामा बसिरहेका छन् ।

गणेश छोराको किरियामा बसेका छन् । आमा चमेली घट्ना भएको दिनदेखि आजसम्म पनि सम्हालिन सक्ने अवस्था छैनन् । शोकमा डुबेको परिवारलाई सान्त्वना दिन जानेहरुले निशानको घट्नाबारेमा सोधिरहँदा उनको घाउ झन बल्झिए जस्तै हुन्छ ।

जतिखेर पनि “मेरो बाबु, मेरो छोरा” भन्दै छोराको सम्झनामा रोइरहने चमेलीका लागि जीवनभर निको नहुने घाउ बन्यो छोराको अपहरण र हत्या । ‘आमा म एकछिन खेलेर आउँछु है भन्दै खेल्न गएको छोरा फर्कँदैन भन्ने के थाहा थियो र ?, मेरो बाबु म कसरी बिर्सनु’, उनको पीडा उत्तिकै झल्कन्छ ।

मलेसियाबाट फर्किएका उनका श्रीमान् गणेश खड्काको अवस्था पनि उस्तै छ । सम्झाउन आउने र सान्त्वना दिन भेट्न आउनेसँग बोल्ने शब्द पनि छैन, उनीहरुको । किरियामा बसेका गणेश छोराको विभत्स हत्याले बनाएको मनको घाउ बिर्सन नसक्ने अवस्थामा पुगेको उनका परिवार बताउँछन् ।

अपहरणकारीले अपहरण गरी हत्या गरेको आठ दिन बितिसक्दा पनि यो परिवारको अवस्था बुझ्न र सान्त्वना दिन कुनै सरकारी टोली अहिलेसम्म त्यहाँ पुगेको छैन । ‘आठ दिन भयो, सरकारी टोली कोही आएका छैनन्, मलाई त्यसको वास्ता पनि छैन’, चमेलीले भनिन्, ‘म केही बोल्नसक्ने अवस्थामा छैन ।’ उनी छोराको सम्झनामा भक्कानिएर रुदाँ भेट्न आउनेहरुको आँखा पनि रसाउने गरेको छ ।

शोक र पीडाले उहाँको अवस्था कमजोर बन्दै गएको चमेलीका भाइ रामकाजी सापकोटा बताउँछन् । ‘घट्ना भएको दिनदेखि दिदीले आजसम्म खाना खानुभएको छैन, न त राम्ररी सुत्नु नै पाएको छ’, उनी भन्छन्, ‘कमजोर भइसक्नुभयो, सम्झाउँदा, बुझाउँदा पनि आमाको मन न हो कसरी मान्थ्यो र ?’

निशानका बाबु गणेशको मलेसियाबाट सीधै आर्यघाट पुगेर छोराको दाहसंस्कार गरेर आएपछि टोलाउने गरेको उनी बताउँछन्। ‘छोराको शोकले बाबुलाई पनि निकै पिरोलेको छ’, उनी भन्छन्, ‘निशानका साना दुई दिदीको पीडा पनि उस्तै छ, सानो भाइ गुमाउँदाको पीडाले ती साना नानीहरुको आँखा पनि ओभाएको छैन ।’

बुढेसकालमा पुगेका चमेलीका बुवा मीनबहादुर सापकोटाको अवस्था पनि उस्तै छ । नातीको सम्झनामा टोलाउने, बेलाबेलामा अरुलाई सम्झाउँदै आफू पनि रुने गर्दा पीडा सधैँका लागि निको नहुने घाउ बनेर बसेको उनी बताउँछन् । दिउँसो वा राति बेला बेलामा चमेलीले मेरो छोरा भन्दै रुने गरेको बताउँदै चमेलीको परिवार, माइतीपरिवार र घरका परिवार तीनवटै ठाउँका आफन्त शोकमा डुबेको सापकोटा बताउँछन् ।

सरकारी टोली र सरकारले पीडितका बारेमा बेवास्ता गरेको आफन्तको गुनासो छ । ‘अहिलेसम्म कोही सरकारी टोली भेट्न आएका छैनन्, अवस्था बुझ्न पनि कोही आएका छैनन्, अब के गर्ने भन्नेबारेमा केही सल्लाह भएको छैन’, चमेलीका भाइ रामकाजी सापकोटा भन्छन्, ‘१३ दिनको किरिया सकिएपछि यसबारेमा केही कुरा होला, अहिले त्यतातिर ध्यान दिएका छैनौ ।’

जिल्ला प्रशासन कार्यालय काठमाडाँैका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले आैपचारिक रुपमा पीडित बालकको परिवारलाई भेट्न नगए पनि अनौपचारिक रुपमा सम्पर्कमा रहिरहेको बताए । ‘घटनाप्रति सरकार दुःखी छ, सरकारको सहानुभूति पनि छ’, उनले भने, ‘उहाँहरु अहिले शोकमा हुनुहुन्छ, किरियामा हुनुहुन्छ, किरिया सकिएपछि भेटघाट होला ।’

गत २० गते आइतबार काठमाडौँ महानगरपालिका-३२ काँडाघारीबाट खेल्न गएका निशानको अपहरण गरी हत्या गर्ने सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय गोपाल तामाङ र नुवाकोट समरीका २४ वर्षीय अजय तामाङ भोलिपल्ट प्रहरीको गोली लागेर मारिएका थिए ।

बालकको शव भने बुवा गणेश मलेशियाबाट फर्किएपछि २४ गते पुशपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । अपहरणकारी दुवैको शव पनि आफन्तले बुझेर दाहसंस्कार गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here