युक्रेन सरकारले लेनिनका सयौं सालिक ढलाए

111

युक्रेन : युक्रेनले पूर्वसोभियत संघका बेला स्थापना गरिएका लेनिनका सयौं सालिक हटाएको छ। सोभियत संघको प्रतीक मानिएका लेनिनका त्यस्ता सालिक देशभरबाट हटाउने प्रयासमा युक्रेन सरकार लागेको छ।

हाल युरोपियन युनिन (इयु)मा सदस्यताका लागि प्रयास गरेको युक्रेनले सोभियत संघका संस्थापक लेनिनका १ हजार ३ सय २० वटा सालिक हटाइसकेको छ। बोल्सेभिक क्रान्तिका नेता लेनिनका युक्रेनभरि प्रायः सबै प्रमुख बस्तीमा सालिक बनाइएका थिए। रूससँग विवाद बढ्दै गएपछि वर्तमान सरकारले पूर्णरूपमा लेनिनका सालिकमाथि प्रतिशोध साँध्न थालेको हो । वर्तमान युक्रेन सरकारले रूसविरोधी भावनालाई प्राथमिकता दिन थालेको छ।

भियतकालीन समयमा राखिएका मार्ग र शहरका नाम पनि बदलिन थालेका छन् एक प्रतिवेदनअनुसार युक्रेनका राष्ट्रपति पोरोसेन्कोले सन् २०१५ को मेमा यससम्बन्धी कानुन नै तयार पारेका थिए।

कैयौं ठाउँको नाम युक्रेनमा नेताहरूका नममा राखिन थालेका छन्। जकरपात्तियामा लेनिन स्ट्रिटको नाम परिवर्तन गरेर लेनन स्ट्रिट बनाइएको छ। युक्रेनको इन्स्च्यिुट अफ नेसनल रिमेम्बरेन्सका निर्देशक भोलोदिमिर भियात्रोभिचले देशभरबाट लेनिनका सालिक हटाइएको जानकारी दिए। यसका साथै सोभियत संघका बेला निर्माण गरिएका १ हजार ६९ वटा स्मारक पनि हटाइएको छ।

युक्रेन सरकारको यस्तो कदमले युक्रेनमा रूसविरोधी भावना वृद्धि हुने युक्रेनी अधिकारीको भनाइ छ। युक्रेनको यस्तो प्रयासपछि पूर्वी युक्रेनमा झनै रूसप्रतिको समर्थन बढेको छ। रूसीभाषी नागरिकमा यो घटनाले झनै आक्रामक बन्न सघाउ पु¥याएको छ । ती क्षेत्रमा विद्रोहीले आफ्नो संघर्ष चर्काउन सफल भएका छन्। संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार क्रिमिया रूसमा विलय भएपछि युक्रेनमा हालसम्म १० हजारभन्दा बढी युक्रेनीको मृत्यु भएको छ।

युक्रेनले आफ्नो पूर्वी भागमा रूसले आतंक मचाएको आरोप लगाउँदै आएको छ। त्यहाँका विद्रोहीलाई रूसले हातहतियार र आर्थिक सहयोगका साथै सैन्य तालिम दिने गरेको युक्रेनी भनाइ छ। रूसले भने यस्तो आरोपको खण्डन गर्दै आएको छ।

युक्रेनमा हिंसा रोकिएन
युक्रेनका एक सरकारी अधिकारीको गोली हानी हत्या गरिएको युक्रेनको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रक्षा मन्त्रालयका एकजना अधिकारीको हत्या भएको छ, तर त्यसमा संलग्नको बारे केही खुलेको छैन।’

यसअघि पनि केही सातामात्र अघि यहाँका मुख्य गुप्तचर निर्देशक म्याक्सिम सापोभलको हत्या गरिएको थियो। उनलाई कार बम विस्फोटमा पारेर हत्या गरिएको थियो। सोमबार हत्या भएका ती अधिकारीको पहिचान खुलाइएको छैन। उनको हत्यामा यहाँ विद्रोह गरिरहेका सशस्त्र समूहको हात रहेको अनुमान गरिएको छ। हत्या उनको निवास रहेको युक्रेनी पूर्वीक्षेत्र डोन्टस्कमा गरिएको छ।

महिनादिन यता नै उक्त क्षेत्रमा दुईजना गुप्तचर अधिकारी मारिएका छन्। युक्रेन सरकारले आतंकवादी हमला भएको बताउँदै घटनाको अनुसन्धान भइरहेको जनाएको छ। युक्रेनी सञ्चारमाध्यमले विभिन्न स्रोतलाई उद्धृत गर्दै पूर्वी युक्रेनमा भएको द्वन्द्वमा खटिएका अधिकारीको हत्या भएको जनाएका छन्।

गत महिना युक्रेनका राष्ट्रपति पेत्रो पोरोसेन्कोले पूर्वी युक्रेनी भूभाग डोनेटस्क, लुगान्स्क क्षेत्रसहित डोन्बासमा तत्काल युद्धविराम गरेर समस्याको समाधान वार्ताबाट थाल्न माग गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here