दशैंका लागि अग्रिम बुकिङ्ग टिकट भाद्र २२ गतेबाट , दैनिक ७ हजार बस चाहिने

219

काठमाडौं ।  दशैंका लागि अग्रिम बुकिङ्क टिकट २२ गतेबाट खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागले भदौ २२ गतेबाट उपत्यका बाहिरिने मध्य र लामो दूरीका यात्रुबाहक बसको टिकट खुल्ने निर्णय गरेको हो ।

गतवर्षका दशैंहरुमा समयमै अग्रिम बुकिङ्क टिकट नखुल्दा यात्रुहरु टिकट नपाउने मात्र होइन, महङ्गो शुल्क तिरेर तथा छतमा चढेर गन्तव्यसम्म पुग्न बाध्य भएको दृष्टान्तलाई मध्यनजर गर्दै यस वर्षको दशैं सम्पूर्ण नेपालीहरुका लागि यात्रुप्रति यातायात क्षेत्रका तर्फबाट शुभ र सुखद रहने विश्वासका साथ विभागले अग्रिम बुकिङ्क टिकट समयमै खुला गरेको विभाग स्रोतले जानकारी दिएको छ ।

छत राख्न पाउनुपर्छ : व्यवसायी

यातायात व्यवस्था विभागले टिकटको मिति तोकिरहँदा यता यातायात व्यासायीहरुले सरकारको गतवर्ष असोजको निर्णयअनुसार हटाइएको बसको छत पुनः राख्न पाउनुपर्ने माग अघि सार्दै बसको छत जडान नभएसम्म टिकट खुल्न नसक्ने चेतावनी दिएका छन् ।

“यदि बसमा छत राख्न नपाइने हो भने यात्रुका सामानको जिम्मा विभागले लिनुपर्छ,” नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका अध्यक्ष डोलनाथ खनालले भने, “यात्रुको सामान राख्नका लागि हामीले बसमा छत हुनुपर्छ भनेका हौं, यदि छतमा पेसिन्जर र अन्य प्रयोजनका सामग्री राखिएको पाएमा प्रचलित नियमअनुसार सजाय भोग्न तयार छौं ।”
चाडपर्वको समयमा विभिन्न बहानामा टिकटका लागि किन आनाकानी गरिएको ? भन्ने बाह्रखरीको प्रश्नमा महासंघका महासचिव सरोज सिटौला खाद्यान्न, व्यावसायिक र औधोगिक प्रयोजनका सामग्री होइन, यात्रुकै झिटिगुन्टा राख्नका लागि छतको माग गरेकाले आफूहरुको माग यात्रुमैत्री रहेको बताउँछन् ।

यसैगरी महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारी मुग्लिन सडकखण्ड बिग्रिएका कारण पश्चिम जाने बसहरुलाई पोखरा घुमाएर लैजानुपर्ने बाध्यता रहेको र यसो हुँदा ९० किलोमिटर खर्चको व्ययभार व्यावसायीको टाउकोमा आइपर्ने बताउँदै भन्छन्, “चाडबाडका मुखमा बसभाडा बढाउँदा सेवाग्राहीमा नकारात्मक छाप पर्न सक्छ तर सडकको दुरावस्था र त्यसमाथि यात्रुका सामान कहाँ राख्ने भन्नेमै चिन्तित छौं ।”

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई मध्य र सुदूरपश्चिमाञ्चल रुटमा चल्ने अधिकांश बसहरुले व्यावसायिक र औद्योगिक सामग्री ढुवानी गर्ने गरेको हुँदा व्यवसायीहरुको छत राख्न पाउनुपर्ने मागलाई संशोधनमार्फत मात्र स्वीकार गर्न सकिने बताउँछन् ।

यातायात देशकै महत्वपूर्ण र अत्यावश्यक क्षेत्र भएकाले आफ्नो क्षेत्र र जिम्मेवारीप्रति संवेदशील बन्न ट्राफिक निर्देशनालयका  प्रमुख सुदीप आचार्यको आग्रह छ । “आर्थिक मुनाफा मात्रै नहेरेर यात्रुहरुको सेवामा जुट्नु पनि यातायात व्यावसायीहरुको जिम्मेवारी हो,” आचार्यले भने, “भूकम्प, नाकाबन्दीको समयमा म रसुवा, काभ्रे, सिन्धुपाल्चोक र नुवाकोट क्षेत्रमा ड्युटीमा थिएँ तर त्यहाँ मैले यातायात व्यवसायीहरुले निःशुल्क सेवा दिएको पाइन बरु मनपरी भाडा असुलेको पाएँ ।” भूकम्प र नाकाबन्दीको समयमा यातायात क्षेत्रले यात्रुहरुलाई निःशुल्क सेवा दिएको सकारात्मक पक्षको आडमा अहिलेको दशैंमा आफ्ना माग अघि सार्नु हास्यास्पद भएको पनि आचार्यले बताए ।

तर व्यावसायी आफूहरुले तत्कालीन समयमा गरेको सेवाको आडमा भन्दा पनि अहिलेको मूल्यवृद्धिका आधारमा बसको भाडादर बढाउनु पर्ने आवश्यकता रहेको बताउछन् । २०६९ सालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका बेला सार्वजनिक भाडादर बढाए पनि हालको पाट्र्स र लुब्रिकेन्ट्सका आधारमा उक्तमूल्य वैज्ञानिक नभएको व्यावसायी बताउँछन् ।

“तर, चाडपर्वअघि नै भाडा बढाउनुपर्छ भन्ने हाम्रो जिकिर होइन, भाडा छठ पर्वपछि मङ्सिरतिरबाट बढाए पनि हुन्छ ।”

यता ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनालले केही बसधनीहरुले बसको छतमा अवैधानिक सामग्रीको ओसारपसार गर्ने गरेको पाइएकाले बसमा छत राख्नुपर्ने विषय त्यति सजिलो नभएको प्रष्ट पारे ।

सरकारले उपभोक्ता देखेन : उपभोक्ता मञ्च

यातायात सेवाको सहज उपयोगका लागि सरकारले कुनै पनि आवश्यक कदम नचालेको नागरिक न्यायिक उपभोक्ता मञ्चका महासचिव रञ्जन शर्मा खनाल बताउँछन् ।
दशैंअघि केही नगर्नु तर मुखमा आएर अग्रिम बुकिङ्क टिकटबारे बोल्नुले यातायात व्यवस्था विभागको निरिहपन झल्किएको खनालले बताए । यसका साथै माओवादी, कांग्रेस, एमाले जुनै सरकार आए पनि उपभोक्ताका हितमा काम नगरेको खनालले आरोप लगाए ।

यस दशैंमा २५ लाख यात्रु राजधानी बाहिरिँदै छन् भने दशैंका दिनमा दैनिक ७ सात हजार बसको माग रहने विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here