सिरहामा दलहरुको चुनावी अभियान तीव्र : उम्मेद्वार छान्न दललाई अझै सकस

96

सिरहा / मुख्य पदको उम्मेद्वार टुङ्गो नलागेपनि असोज २ गते हुने तेस्रो चरणको स्थानिय तहको लागि निर्वाचनको चहलपहल सुरु भएको छ । मनोनयन दर्ता नजिकिएकोले उम्मेद्वारहरुको टुङ्गो नलागेपनि गाउँबस्तीमा राजनीतिक दलहरुले घरदैलो तथा मतदातासँगको भेटघाटलाई तीव्रता दिएका छन् ।

नेपाली काग्रेसले नगरपालीका तथा गाउँपालिकाहरुको प्रमुखको उम्मेदवार बिना घरदैलो तथा भेटघाट सुरु गरेको हो । सिरहाका नगरपालिका र गाउँपालिकामा प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारहरु टुंग्याउन नसक्दा वडाध्यक्ष र सदस्य पदका उम्मेदवारहरु भोटमाग्दै चुनावी अभियान चलाईरहेका छन् । मुख्य पदका उम्मेदवार विनै घरदैलो र मतदातासँग भेटघाट गरिरहेका छन् । सिरहाको लहान, धनगढीमाई, गोलबजार, सुखीपुर, मिर्चैया, सिरहा, कर्जन्हा र कल्याणपुर नगरपालिका सहित भगवानपुर, नवराजपुर, बरियारपट्टी, औरही, विष्णुपुर, लक्ष्मीपुर पतारी, नरहा, सखुवानन्कारकट्टी र अर्नमा गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारहरुको नाम टुङ्गो लाग्न सकेको छैन । निर्वाचनमा आकाक्षी धेरै भएकाले पार्टीलाई मुख्य उम्मेदबार छान्न सकस भएको जिल्ला सभापति तथा सासंद रामचन्द्र यादवले जनाए । उनले उम्मेद्वार टुङ्गो नलागेपनि पार्टीको भोटमागी घरदैलो गर्न स्थानीय पार्टीलाई निर्देशन दिई सकिएको पनि उनले जनाए ।

 नेकपा एमालेले सिरहाका १७ वटा स्थानिय तह मध्ये १५ वटामा मुख्य उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । बाँकी दुई वटाको पनि चाँडै टुङ्गो लाग्ने लाग्ने जिल्ला सचिव योगेन्द्र सिंहले बताए । सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख उपप्रमुख र बरियारपट्टी गाउँपालीका बाहेक सवै ठाउँका उम्मेदवारहरुको नाम सार्वजनिक भईसकेको छ । मुख्य उम्मेदवारको विषयमा अन्यौल रहेको भए पनि प्रचार प्रसारमा एमाले तिब्रता दिएको छ । एमालेले आफ्नो समर्थक मतदाता रहेका गाउँका चोक, बजारमा पार्टी र चुनाव चिन्ह अंकित झन्डा, ब्यानर, छ्याप्छ्याप्ती बनाएको छ ।

नेकपा माओवादी केन्द्रले आधिकारिक रुपमा नाम सार्वजनिक नगरेको भए पनि माओवादी केन्द्रका तर्फबाट प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष सहित वडाध्यक्ष र सदस्य पदका उम्मेदवारहरु जुलुस सहित मतदाता भेटघाट, घरदैलो अभियानमा जुटेका छन् । राजपा नेपालले मिर्चैैयामा मोटरसाइकल र्याली प्रदर्शन गरेको छ । राजपा मिर्चैयाको कटारी चौकमा चुनाबी कार्यालयको उदघाटन पश्चात मिर्चैैयामा मोटरसाइकल र्याली प्रदर्शन गरेका छन् । मिर्चैयाको कटारी चौकबाट निस्किएको र्याली नगरको बिभिन्न भागको परिक्रमा गर्दै बजारमा कोण सभामा परिणत भएको राजपा नेता अंजय साहले बताए । मिर्चैया नगरपालिकामा राजपाले मेयरमा राम कुमार मंडल र उपमेयरमा चन्द्रकला साहलाई उम्मेदबार बनाएको छ ।

माओवादी केन्द्रका तर्फबाट गोलबजार नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार क्रमशः देवनाथ साह र रेशमकुमारी थापा वडाध्यक्षहरु सहित घरदैलो गरिरहेका छन् । धनगढीमाई नगरपालिकाका प्रमुख पदका उम्मेदवार हरिनारायण चौधरी, उपप्रमुख उम्मेदवार फूलकुमारी तामाङ सहित माओवादी नेता कार्यकर्ताहरुको घरदैलो अभियान नगरको सबै वार्डमा पुगिसकेको माओवादी केन्द्र प्रचारप्रचार समिति धनगढीले जनाएको छ । माओवादी केन्द्रले सिरहाको मिर्चैया, कर्जन्हा सहित अन्य नगरपालिका र गाउँपालिकाहरुमा घरदैलो र मतदाता भेटघाट अभियान चलाइरहेको जिल्ला निर्वाचन परिचालन समितिका संयोजक रामकुमार यादवले बताए ।

मधेस केन्द्रित दलहरुमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपाल, विजय गच्छदारको नेपाल लोकतान्त्रिक फोरम र नवगठित राष्ट्रिय जनता पार्टी नेपाल पनि चुनाव प्रचार अभियानमा जुटेका छन् । संघिय समाजवादी फोरमले सिरहाको केही ठाउँमा उम्मेदवारहरुको नाम टुंग्याएर प्रचारप्रसारमा जुटेका छन् । राजपा पनि कार्यकर्ताहरुलाई चुनाव प्रचारमा खटाएको छ । स्थानीय तहको पुनःसंरचनापछि ८ नगरपालिका र ९ गाउँपालिका रहेको सिरहामा ३ लाख ३१ हजार ५ सय ९६ मतदाता रहेका छन् । २ असोजमा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सिरहामा ४ सय २६ वटा मदतान केन्द्र, २ सय २१ मतदानस्थल तोकिएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here