६६२७ सिटका लागि १५ हजारभन्दा बढीको भिडन्त

160

प्रदेश नम्बर २ का आठ जिल्लामा बुधबार उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले उम्मेदवारी दर्तामा उत्साहपूर्वक सहभागी हुन दल, मतदाता र उम्मेदवारलाई आग्रह गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गरेर बुधबारको मनोनयन कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन अनुरोध गरेको हो । तेस्रो चरणको निर्वाचनमार्फत १३६ स्थानीय तहका विभिन्न पदमा ६ हजार ६२७ प्रतिनिधि निर्वाचित हुनेछन् । आठ जिल्लामा हुन लागेको निर्वाचनको उम्मेदवारी दर्ता बिहान १० देखि अपराह्न ५ बजेसम्म तोकिएको छ ।  ६६२७ सिटका लागि १५ हजारभन्दा बढी नेता भिड्न लागेका छन् ।

आयोगले २ असोजका दिन बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ । प्रदेश २ का आठ जिल्लामा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । सबै स्थानीय तहमा १ हजार २ सय ७१ वडा कायम भएका छन् । प्रदेश २ मा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् भने ३ हजार ५ सय ७८ मतदान केन्द्र र २ हजार १ सय ६६ मतदान स्थल निर्धारण गरिएको छ ।

निर्वाचनका लागि स्वयंसेवकसहित ३१ हजारभन्दा बढी कर्मचारी खटिने आयोगले जनाएको छ । प्रदेश २ मा स्थानीय तहको निर्वाचनमार्फत प्रमुख एवं अध्यक्ष पदमा १ सय ३६, उपप्रमुख एवं उपाध्यक्ष १ सय ३६, वडाध्यक्ष १ हजार २ सय ७१ तथा ५ हजार ८४ वडा सदस्यसहित कुल ६ हजार ६ सय २७ जनप्रतिनिधिको चयन हुनेछन् ।

आयोगका प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवले उम्मेदवारी दर्ता गराउन अवरोध सिर्जना गर्ने, भड्काउने, बाधा–व्यवधान खडा गर्ने क्रियाकलाप नगर्न आग्रह गरेका छन् । आयोगले मधेसमा हालैको बाढी र डुबानका कारण सडक, कल्भर्ट र पुलमा भएको क्षतिले असर पारेको आवागमन तत्काल व्यवस्थित गर्न सरकारलाई आग्रह पनि गरेको छ ।

महिला, दलित, अल्पसंख्यकलाई उम्मेदवार मनोनयन दर्तामा ५० प्रतिशत छुट
स्थानीय तहका निर्वाचनमा वडा तहमा ४० प्रतिशत महिला प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको छ । र, महिला, दलित, अल्पसंख्यकलगायतलाई उम्मेदवारी मनोनयन गर्न आवश्यक शुल्कमा ५० प्रतिशत छुट दिइएको छ । दलका तर्फबाट उम्मेदवार हुँदा नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुखमध्ये एकजना महिला उम्मेदवार अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

निर्वाचन आचारसंहिता कार्यान्वयनमा सबै पक्षबाट सहयोग हुन अपेक्षा राख्दै आयोगले आयुक्तको नेतृत्वमा उच्चस्तरीय टोली र सचिवको नेतृत्वमा अनुगमन टोली खटिएको जनाएकोे छ । निर्वाचनसम्बन्धी विवाद निरूपण गर्नुका साथै प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालयले पनि आचारसंहिता पालनाको अनुगमन गर्ने व्यवस्था मिलाएको छ ।

यस्तो छ कार्यतालिका
२१ भदौ : उम्मेदवारको मनोनयनपत्र दर्ता
२१ भदौ : उम्मेदवारको सूची प्रकाशन
२२ भदौ : उम्मेदवारको विरोधमा उजुरी दिने
२२ भदौ : मनोनयनपत्र जाँच गर्ने
२३ भदौ : मनोनयन भएकाको नामावली प्रकाशन
२३ भदौ : उम्मेदवारले नाम फिर्ता लिने
२४ भदौ : अन्तिम नामावली प्रकाशन
२४ भदौ : उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
२ असोज : मतदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here