प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि मतपत्र छपाइको काम शुरु

83

काठमाडौं – मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि मंगलबारदेखि मतपत्र छपाइको काम शुरु हुँदैछ । जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मंगलबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छाप्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार कात्तिक ५ गतेभित्र छापिसक्ने गरि प्रदेश र केन्द्र अनुसार ३ सय ३७ प्रकारको मतपत्र छापिनेछ । प्रत्यक्ष तर्फको भने कात्तिक ८ गते उम्मेद्वारलाई चुनाव चिन्ह दिएपछि मात्र मतपत्र छाप्ने तयारी गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

पहिलो चरणमा झन्डै ८० लाखको संख्यामा समानुपातिक मतपत्र छापिने र दोस्रो चरणमा प्रत्यक्षतर्फका मतपत्र छाप्ने उहाँले बताउनुभयो । एउटै मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधिसभा र तल्लो खण्डमा प्रदेशसभा सदस्य निर्वाचनका चुनाव चिह्न रहनेछन् ।

समानुपातिक चुनावमा भाग लिने राजनीतिक दलले उम्मेदवारको बन्दसूची यही २९ गते पेस गर्नुपर्ने गरी यसअघि नै आयोगबाट निर्वाचन कार्यक्रम प्रकाशन भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं १ मा ८७,  प्रदेश नं २ र ३ मा ८६–८६, प्रदेश नं ४ र ६ मा ८२–८२, प्रदेश नं ५ मा ८४ र प्रदेश नं ७ मा ८३ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १ सय ६५ तथा समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० सदस्य तथा प्रदेशसभामा प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिक प्रणालीबाट २ सय २९ जना चयन हुनेछन् । निर्वाचन आयोगले आउँदो मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि चुनाव गर्ने निर्णय अनुसार नै तयारी थालेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here