६ महिना नपुग्दै मेयरले माग माफीे

6321

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले आफूबाट कमजोरी भएको स्वीकार्दै माफी मागेका छन् ।

बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनबाट चुनिएर आएको ६ महिना नपुग्दै मेयर मिश्रले नगरकोटका होटल व्यवसायीसँग सार्वजनिक रुपमा माफी माग्दै उनले आफूबाट कमजोरी भएको स्वीकारेका हुन् ।
नगरकोट आउने विदेशी पर्यटकसँग पर्यटन शुल्क उठाएको विषयमा नगरकोटस्थित होटल सञ्चालकहरु तथा नगरकोट नाल्दुम पर्यटन विकास समितिको टोलीसँगको भेटघाटमा मेयर मिश्रले व्यवसायीहरु अघि हात जोड्दै एकतर्फी काम हुँदा आफूबाट गल्ती भएको बताए ।

उनले आफू पहिलोपटक मेयर भएकोले अनुभव नहुँदा स्थानीयसँग उठाउने करका विषयमा आफूलाई ज्ञान नहुँदा व्यवसायीसँग छलफल गर्न नपाएको उल्लेख गर्दै विगत ३ वर्षदेखि कार्यान्वयन हुन नसकेको निर्णय आफूले कार्यान्वयनमा मात्र ल्याएको जनाए ।

संस्थागत रुपमा छलफल गर्न कमजोरी भएको हो, यसमा हामी चुक्यौं, त्यसलाई सुधार्छौं । मेयर मिश्रले भने, कमजोरी भएको हो, गल्ती भएको हो, नाटा, हान, पर्यटन बोर्डलाई खबर गर्नुपर्ने थियो । नगरपालिकाले असोज १ गतेदेखि नगरकोट आउने बाहिरी पर्यटक अन्तर्गत सार्क मुलुकका पर्यटकसँग प्रति पर्यटक रु. ३ सय र अन्य देशकासँग रु. ४ सय लिने गरी ठेक्का दिएको थियो ।

सो निर्णय कार्यान्वयनमा आएसँगै मेयरसँग रुष्ट बनेका व्यवसायीहरुले सो निर्णय तत्कालै फिर्ता लिन माग गरेका थिए । निक्कै आक्रोसमा उपस्थित भएका व्यवसायीहरुको मागलाई मेयर मिश्रले हल्का रुपमा लिएपछि ज्ञापन पत्र बझाउन आएका व्यवसायीहरुसामु मेयर मिश्र रातोनिलो भएका थिए ।

मेयर मिश्रले व्यवसायीहरुसमझ नगरकोटको विकासका लागि आफू प्रतिवद्ध भएको बताउँदै सो ठाउँमा एक महिनाभित्र सोलार बत्ती, सार्वजनिक शौचालय, दुईवटा भ्युपार्क, टुरिष्ट बसपार्क बनाउने योजना सुनाइरहेको बेला व्यवसायीहरुले मेयरले सान्त्वना दिएर व्यवसायीलाई भुलाउने काम गरेको बताउँदै योजना बनाएको तर बजेट नुछुट्याएको बताए ।

व्यवसायी एवं नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष इन्द्र लामाले पर्यटकसँग शुल्क उठाउने नाममा ठेकेदार पोस्ने काम गरेको आरोप लगाउँदै तत्कालै सो निर्णय फिर्ता लिन पनि माग गरेका थिए । नगरपालिकाले निर्णय नसच्याए व्यवसायीहरुले होटल बन्द गरेर नगरपालिका घेराउको कार्यक्रम गर्न बाध्य हुने चेतावनी पनि दिएका थिए ।
व्यवसायी गोकुल शर्माले नगरपालिकाले व्यवसायीहरुसँग विना छलफल पर्यटन शुल्क उठाएर नगरकोटको पर्यटन व्यवसायलाई ध्वस्त बनाउने काममा मेयर मिश्रले अगुवाइ गरेको बताउँदै निर्णय सच्याउनुपर्ने बताए ।

व्यवसायीहरुले सो माग राखे पनि मेयर मिश्रले भने आफू एक्लैले सो निर्णय गरेको नभई नगर कार्यपालिकाले सो निर्णय गरेको बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here