उत्तर कोरियाले कहाँबाट पाउँछ इन्टरनेट ?

130

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्बाट आर्थिक प्रतिबन्ध खेपिरहेको उत्तर कोरियालाई इन्टरनेट सेवा कसरी प्राप्त हुन्छ ? त्यहाँको सरकार र मानिसहरु संसारको अर्को हिस्सासँग आफूलाई कसरी जोड्छन् ? त्यो कुन देश हो, जसले उत्तर कोरियालाई इन्टरनेट सेवा उपलब्ध गराउँछ ?

यी त्यस्ता प्रश्न हुन्, जुन उत्तर कोरियाको बारेमा चाख राख्ने र यसबारे जान्न-बुझ्न खोज्नेहरुको मनमा प्राय: उठिरहन्छ।

हालै आएको एक खबर अनुसार उत्तर कोरियाले रसिया मार्फत इन्टरनेटको नयाँ कनेक्सन पाएको छ । रसियाको दूरसञ्चार कम्पनी ‘ट्रान्स टेलिकम’ ले उत्तर कोरियालाई यो सुविधा दिएको हो । साइबर सुरक्षा प्रदान गर्ने कम्पनी ‘फायर आई’ ले यसको जानकारी दिएको हो।

फायर आईका अनुसार रुसी कम्पनीले गत आइतबारदेखि उत्तर कोरियामा इन्टरनेट सेवा सुरु गरेको हो । यसअघि उत्तर कोरियामा इन्टरनेट सेवा उपलब्ध गराउने एक मात्र कम्पनी चीनको ‘चाइना युनाइटेड नेटवर्क कम्युनिकेसन लिमिटेड’ थियो।

रसियाले जमाउनेछ पकड

रसियाबाट उत्तर कोरियालाई इन्टरनेट सेवा उपलब्ध गराइने खबर त्यो समय आएको छ, जब संसारका शक्तिशाली मुलुकहरु आणविक शक्तिलाई तागत मान्ने यो देशमाथि प्रतिबन्धमार्फत लगाम लगाउने प्रयास गरिरहेका छन्।

रसियाको फायर आई कम्पनीको एसिया प्रशान्त क्षेत्रका प्रमुख प्रविधि अधिकारी ब्रायस बोलैंड बताउँछन्- ‘रूस मार्फत इन्टरनेटको अतिरिक्त सुविधा पाएपछि उत्तर कोरिया प्रविधिको क्षेत्रमा  अधिक बलियो हुनेछ र उसको सामु कैयौं नयाँ निकल्प उपलब्ध हुनेछ ।’

राष्ट्र संघले उत्तर कोरियालाई तेल र कपडाको आयात-निर्यातमाथि प्रतिबन्ध लगाए पनि इन्टरनेटको प्रतिबन्ध भने लगाएको थिएन।

अमेरिकाको साइबर आक्रमण 

वाशिंटन पोस्टमा गत शनिबार प्रकाशित एक रिपोर्ट अनुसार, अमेरिकी साइबर आदेश मार्फत उत्तर कोरियाको सैन्य गुप्तचर एजेन्सीलाई ह्याक गर्ने कोसिस भइरहेको छ।

उत्तर कोरियामा उपलब्ध हुने नयाँ इन्टरनेट कनेक्शनबारे उत्तर कोरियाका प्रविधि विज्ञ मार्टिन विलियमले ३८ नर्थ वेबसाइटमा लेखेका छन्- ‘अहिलेसम्म उत्तर कोरिया एकमात्र इन्टरनेट कनेक्शनमा निर्भर थियो । यो उसको लागि अनिश्चयको स्थिति थियो । तर, थप अर्को इन्टरनेट सेवा पाएसँगै ऊसँग विकल्प पैदा भएको छ।’

सन् २०१४ मा सोनी पिक्चर्समाथि साइबर आक्रमण हुँदा त्यसको ठूलो असर उत्तर कोरियालाई परेको थियो । सोनी पिक्चर्सले उत्तर कोरियाका नेता किम जोङ उनको हत्याको षड्यन्त्रमाथि आधारित एक हास्य फिल्म ‘द इन्टरभ्यू’ बनाएको थियो, जसको बारेमा निकै विवाद भएको थियो।

अमेरिकाको गुप्तचर संस्था एफबीआईले सो साइबर आक्रमणमा उत्तर कोरियाको संलग्नता रहेको आरोप लगाएको थियो । तर, उत्तर कोरियाले सो आरोपको खण्डन गर्दै आफू अमेरिकासँग मिलेर साइबर आक्रमणको घटनाबारे संयुक्त जाँच गर्न तयार रहेको बताएको थियो।

राष्ट्र संघको सुरक्षा परिषद्ले गत महिना उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको थियो । उत्तर कोरियाले सेप्टेम्बर ३ मा छैटौं तथा आफ्नो सबैभन्दा ठूलो परमाणु परीक्षण गरेपछि नयाँ प्रतिबन्ध लागू भएको थियो । यो प्रतिबन्धमा चीन र रसियाले नयाँ सीमामा सहमति जनाएका थिए। बिबिसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here