प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कुन-कुन दलले पाएका छन् चुनाव चिन्ह ?

186

काठमाडौँ – आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारबाट मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि ९६ दललाई चुनाव चिन्ह प्रदान गरेको छ । यसबाहेक स्वतन्त्र उम्मेदवार पनि हुनेछन् । स्वतन्त्रलाई छुट्टै चुनाव  चिन्ह प्रदान गरिनेछ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ८ दलले ४ संयुक्त चुनाव चिन्ह लिएको जानकारी दिए । माओवादी केन्द्रले समेत समाजवादी जनता पार्टी नेपाल र जनजागरण पार्टीसँग मिलेर गोलाकारभित्रको गोलाकारभित्र हसिया हथौडा लिएको छ ।

प्रदेशसभा निर्वाचनका लागि कुन दलको चुनाव चिन्ह कति नम्बरमा ? (सूचिसहित)

प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपालगायतले भने संयुक्त चुनाव चिन्ह लिएका छैनन् यद्यपी तालमेलमा एमालेले माओखवादी र रमाओवादीले एमालेलाई भोट हाल्नुपर्ने अवस्था रहेको छ ।
यस्तै गोर्खा र रसुवामा कांग्रेस र नयाँ शक्तिबीच तालमेल भएको छ । सिन्धुपाल्चोकको एक क्षेत्रमा राप्रपा प्रजातान्त्रिक र कांग्रेसबीच तालमेल भएको छ । सो स्थानमा साझा उम्मेदवार तय हुनेछन् एक पार्टीले अर्को पार्टीका उम्मेदवारलाई भेट हाल्नुपर्नेछ ।

संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गराउन गत साउन १४ मा आयोगले सूचना प्रकाशन गरेको थियो ।

उक्त सूचनाको आधारमा निर्धारित समयभित्र आयोगसमक्ष निर्वाचन प्रयोजनका लागि ९६ वटा राजनीतिक दलले निवेदन दर्ता गराएका थिए ।

राजनीतिक दलहरुले निवेदन साथ पेश गरेका कागजातहरु जाँचबुझ गरी ती दललाई संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता गरी दलहरुले प्राथमिकता क्रममा माग गरेका निर्वाचन चिह्नहरूमध्ये आयोगको निर्वाचन चिह्नको समूहमा कायम रहेका निर्वाचन चिह्नबाट निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेको प्रवक्ता नवराज ढकालले बताए ।

दुई वा दुई भन्दा बढी राजनीतिक दलहरु संयुक्त भई एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिन चाहेका राजनीतिक दलहरुको हकमा समेत राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दर्ता गरी एकल चुनाव चिह्न प्रदान गर्ने निर्णय भएको ढकालले बताए ।

पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् । पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ ।
पहिलो चरणको निर्वाचनको लागि चार हजार ४६५ मतदान स्थल र दुई हजार ९४६ मतदान केन्द्र कायम गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here