प्याराडाइज पेपर्सको नेपाल लिङ्क : लक्ष्मी सिमेन्ट उद्योगमा भित्रिन लागेको लगानी यसरी तुहियो

157

काठमाडौँ : विश्वका शक्तिशाली व्यक्तिहरुले कागजी कम्पनीहरुमार्फत् कर छली गर्ने उद्देश्यले लगानी गर्ने गरेको विवरणसहितको ‘प्याराडाइज पेपर्स’ अहिले चर्चामा छ। नेपालका कसैको नाम त्यसमा छ कि छैन, चासो धेरैको छ।

यसअघिको पनामा पेपर्स र अफसोर लिक्समा पनि केही नेपालीको नाम भेटिएको थियो।

पनामा पेपर्सका एक करोड ३४ लाख गोप्य इलेक्ट्रोनिक डकुमेन्ट सबै सार्वजनिक भइनसकेकोले नेपालीहरुको यसमा नाम अझै भेटिन बाँकी नै छ। अफशोर ल फर्म एप्पलबाइ, कर्पोरेट सर्भिस प्रोभाइडरहरु एस्टेरा र एसियासिटी ट्र्स्टसँग सम्बन्धित १ लाख २० हजारको नाम यसमा छ। आइसिआइजेको सहकार्यमा विश्वका विभिन्न मिडिया लागेर ५ नोभेम्बरदेखि यी डकुमेन्टहरु सार्वजनिक हुन थालेका हुन्।

आइसिआइजेको मिडिया पार्टनर इन्डियन एक्सप्रेसले आजको अङ्कमा नेपालसँग सम्बन्धित एउटा विवरण विस्तृतमा प्रकाशित गरेको छ। यो घटना नेपालको लक्ष्मी सिमेन्ट उद्योगसँग सम्बन्धित छ। यो उद्योग २०५६ साल भदौ ३ गते नेपालमा उद्योग विभागमा दर्ता भएको कम्पनी हो। कम्पनीसँग सिमेन्ट प्लान्टका लागि चुनढुंगा खानीको लाइसेन्स पनि थियो।

सन् २०१२ को अक्टोबरमा ब्रिस्टोलको एउटा ल फर्म टिएलटी सोलिसिटर्सले आफ्नो क्लाइन्ट लक्ष्मी सिमेन्ट उद्योगका लागि आइल अफ म्यानमा एउटा होल्डिङ कम्पनी खोल्न एप्पलबाइको सेवा खोज्छन्। आयल अफ म्यान बेलायत र आयरल्यान्डको बीचमा पर्ने एउटा सानो टापु हो। यहाँ क्यापिटल गेन ट्याक्स, सम्पतिलगायतका अनेक कर लाग्दैन भने आयकर एकदमै थोरै लाग्छ। त्यसैले अफसोर आर्थिक कारोबारको केन्द्र बनेको छ यो टापु राष्ट्र।

त्यस्तै एप्पलबाई यस्ता अफसोर केन्द्रहरुमा कागजी कम्पनी खोल्न सघाउने फर्म हो। यही फर्मका विवरणहरु प्याराडाइज पेपर्सबाट लिक भएका हुन्।

एप्पलबाईलाई आयल अफ म्यानको प्रस्तावित कम्पनीका लागि ब्याङ्क कम्पनी पनि खोल्न भनिएको थियो जसले अर्को अफसोर केन्द्र ब्रिटिश भर्जिन आइल्यान्डबाट खुल्न बाँकी कम्पनीले ८० लाख अमेरिकी डलर ऋणका रुपमा प्राप्त गर्छ। र त्यसैले नेपालको सिमेन्ट प्लानलाई ऋणमा चलाउँछ।

एप्पलबाईबाट लिक भएका कागजातका अनुसार नेपालको लक्ष्मी सिमेन्ट उद्योगको मालिक कम्पनी आयल अफ म्यानको एउटा खुल्न बाँकी कम्पनी हुन्थ्यो जसको ७० प्रतिशत हिस्सा अनिल गुप्ता र बाँकी ३० प्रतिशत शेयर विनोद पोद्दारको हुन्छ।

अनिल गुप्ता भारतीय नागरिक हुन्। उनी अम्बे ग्रुपका मालिक पनि हुन्। विनोद पोद्दार पनि भारतीय नागरिक नै हुन् जसको गोविन्द रबर उद्योग छ।

यो कम्पनीको डाइरेक्टरमा एक्ला भारतीय अर्चित गुप्ता बनाउनु थियो जो अनिल गुप्ताका छोरा हुन्। अनि यो कम्पनीका लागि दुई जना कागजी डाइरेक्टर आइल अफ म्यानकै बासिन्दा खोज्न भनिएको थियो।

एप्पलबाईले सोही निर्देशन अनुसार प्लुटस इन्टरनेसनल लिमिटेड नामको कम्पनी खोल्यो र यसको दुई वटा डाइरेक्टर कम्पनीलाई पनि नेपालकै ठाउँको नामबाट खोल्यो- पोखरा कन्ट्रोलर्स लि. र काठमाडौँ म्यानेजर्स लि.।

नेपालमा कुनै पनि विदेशी लगानीको कम्पनीमा कम्तिमा २० प्रतिशत शेयर नेपाली नागरिकको हुनुपर्ने प्रावधान छ।

अनिल गुप्ताको परिवारका सदस्य बताउने वैभव गुप्ताले एप्पलबाईसितको सम्पर्कमा आयल अफ म्यानमा कम्पनी खुल्ने बित्तिकै यो कम्पनीले नेपालमा भएका आफ्ना मानिससित सेयर खरिद सम्झौता गर्ने बताएका थिए। त्यसो गरेपछि बल्ल लक्ष्मी सिमेन्ट उद्योग यो बाहिरको कागजी कम्पनीको पूर्ण नियन्त्रणमा आउँथ्यो।

आयल अफ म्यानको स्तरमा कुनै कर नलाग्ने भए पनि ब्याज रेमिट गर्न र प्रिन्सिपल पेमेन्ट त्यहाँको कम्पनीलाई गर्न नेपालमा १५ प्रतिशत विदहोल्डिङ ट्याक्स लाग्ने कुरा गुप्ताले उल्लेख गरेका थिए।

तर नेपाली कम्पनीलाई ऋण दिने विषयमा रोयल ब्याङ्क अफ स्कटल्यान्ड र एप्पलबाई दुवै सतर्क भए। एप्पलबाईले रेगुलेटरी इस्युबारे विचार गर्नुपर्ने बतायो। सम्पतिको स्रोत पनि खोजियो।

‘नेपाल जस्तो देशमा चुनढुंगा खानी चलाउन भ्रष्टाचारका इस्यु पनि हुनसक्छन्’, एप्पलबाईको कागजातमा उल्लेख छ।

रोयल ब्याङ्क अफ स्कटल्यान्डले एप्पलबाईलाई लेख्यो, ‘नेपाल इस्यु हैन। यी महानुभाव भारतीय भएकोले इन्टाइटी हाइ रिस्कमा छ। तपाईँले सम्पतिको स्रोत पनि ब्याङ्क खाता खोल्ने फर्ममा भर्नुपर्छ।’

यसैमा कुरा नमिलेपछि आयल अफ म्यानमा खोल्ने भनिएको कागजी कम्पनी र त्यसले नेपालको लक्ष्मी सिमेन्ट उद्योगको सेयर किन्ने कुरा तुहियो।

लक्ष्मी सिमेन्ट उद्योग अहिले पनि नेपालमा सञ्चालन भइरहेको छ। यसका अध्यक्ष तथा कार्यकारी निर्देशक उनै अनिल गुप्ता नै हुन्। उनका छोरा अर्चित गुप्ता र अर्पित गुप्ता यो कम्पनीका कार्यकारी निर्देशक छन् भने नेपालका लागि सिइओ के उप्रेति छन्। यो समूहको अर्को लगानी केपी सिमेन्ट उद्योगमा पनि छ।pahilopost

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here