एमालेका यी नेताहरु श्रीमतीलाई उम्मेदवार बनाउन सफल

144

काठमाडौँ- एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १ बाट प्रतिनिधिसभामा उम्मेदवार छन् । एमालेकै महिला संघकी उपाध्यक्ष रहेकी उनकी पत्नी तुलसी थापा प्रतिनिधिसभामा समानुपातिकबाट जनजाति महिलातर्फ उम्मेदवार छिन् । छैटौँ नम्बरमा नाम रहेकाले उनी सांसद हुने लगभग निश्चित छ, नयाँ पत्रिकामा खबर छ  ।

शंकरपत्नी समानुपातिकको सूचीमा 
स्थायी समिति सदस्य शंकर पोखरेल दाङ २ (क)बाट प्रदेश सभामा उम्मेदवार छन् भने केन्द्रीय सदस्य सुजिता शाक्य प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार छिन् । पोखरेलपत्नी शाक्य जनजाति समूहको महिलातर्फ तेस्रो नम्बरमा छिन् ।

कृष्णगोपाल र श्रीमती उम्मेदवार 
एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ काठमाडौं ९ बाट प्रतिनिधिसभामा उम्मेदवार छन् । उनकी पत्नी विना श्रेष्ठ प्रतिनिधिसभाकै समानुपातिकमा उम्मेदवार छिन् । कृष्णगोपाल कडा प्रतिस्पर्धामा छन्, तर समानुपातिकको जनजाति महिलातर्फ पाँचौँ स्थानमा रहेकी विना सांसद बन्ने लगभग निश्चित छ ।

रघुवीरपत्नी जुली उम्मेदवार 
केन्द्रीय सदस्य रघुवीर महासेठ धनुषा ४ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । पत्नी जुली महतो प्रतिनिधिसभाकै समानुपातिकतर्फ मधेसी महिलातर्फ पहिलो नम्बरमा उम्मेदवार छिन् ।

विरोध प्रतिनिधिसभा, मनु प्रदेशमा
केन्द्रीय सदस्य विरोध खतिवडा मकवानपुर २ बाट प्रतिनिधिसभा उम्मेदवार छन् । उनकी पत्नी मनु सिग्देल ३ नम्बर प्रदेश सभाका लागि समानुपातिकतर्फ खस–आर्य महिलातर्फ दोस्रो नम्बर सूचीमा उम्मेदवार छिन् । मनु एमाले मकवानपुरकी अध्यक्ष पनि हुन् ।

तामाङ र राई पति–पत्नी उम्मेदवार 
केन्द्रीय सदस्य शेरबहादुर तामाङ सिन्धुपाल्चोक २ बाट उम्मेदवार छन् । पत्नी उषाकला राई प्रदेश नम्बर १ को प्रदेश सभाका लागि जनजाति महिलातर्फ दोस्रो नम्बर सूचीकी उम्मेदवार छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here