भक्तपुरमा एकापसमा दुई मोटरसाइकल ठोक्किदा एकको मृत्यु

274

भक्तपुर । भक्तपुरमा गएराति दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा दुई जना घाइते भएका छन् ।

भक्तपुरको सानोठिमीस्थित विश्वविद्यालय अनुदान आयोग चोकमा गएराति विपरीत दिशाबाट आउँदै गरेका बा.४९प १५४९ नम्बरको मोटरसाइकल र बा.९०प ३९६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा बा.४९प १५४९ नम्बरको मोटरसाइकलका चालक धादिङ केवलपुर–१० घर भई हाल कुलेश्वर काठमाडौँ बस्ने ४२ वर्षीय सानुकाजी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका श्रेष्ठको ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिएका छन् ।

मोटरसाइकल पछाडि सवार धादिङकै ४४ वर्षीय कमलबहादुर बास्कोटाको मध्यपुर अस्पतालमा उपचार सम्भव नभएपछि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । बा.९०प ३९६५ नंको मोटरसाइकल र त्यसका चालक मथिनपा–७ नगदेश बस्ने १८ वर्षीय रोहित बाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते बाडेको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

दुबै सवारी साधन महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरको नियन्त्रणमा रहेको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here